५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


फेसबुकले नै मलाई कलाकारितामा ल्यायोः नायिका बर्षा राउत(भिडियो)


0
Shares

काठमाडौं । लगातार हिट फिल्म दिइरहेकी नायिका बर्षा राउत धेरै नेपालीको रोजाइमा पर्छिन । म्यूजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेकी बर्षाले अभिनय गरेका अधिकांश फिल्महरुले सफलता पाएका छन् ।

कलाकारिता करियर सुरु गरेदेखि नै साथ दिइरहेका ब्यवसायी संजोग कोइरालासँग प्रेम विवाह गरेकी बर्षाले फिल्म इन्ड्रष्टिजमै समय दिने प्रतिबद्धता जनाएकी छन् । विवाहपछि उनले ईमेज च्यानलसँग आफ्नो अनुभव साटेकी छन् ।

विवाह हुँदाको सबैभन्दा यादगर क्षण सम्झना छ ?

हुनत फिल्म खेल्दा वा म्यूजिक भिडियोमा धेरैपटक बेहुलीको रुपमा थिएँ तर आफ्नै विवाहमा रियल रुपमै सिउँदोमा सिन्दुर हाल्नबेला धेरै मन दुख्यो । त्यसपछि विदाइको बेला भावुक भएँ र धेरै रोएँ ।

विवाहपछि माइती घरको राम्रो वा मिस गरिरहेको केही क्षण छ ?

विशेषत मेरो भाईहरुले मेरो लुगाहरु चोरेर हैरान बनाउथे । किनकी मेरा कतिपय लुगाहरु केटाहरुसँग मिल्ने भएकाले भाइहरुले चोरेर लगाइदिन्थे । तर अहिले संजोगकोमा त्यस्तै छैन । यतिबेला मेरो लुगा चोर्ने कोही छैन ।

फिल्म जात्रैजात्रैको काम के भइरहेको छ ? रियल लाइफमा कस्तो जात्रा भइरहेको छ ?

फिल्म जात्रैजात्राको डविङ भइरहेको छ । पोष्टरका लागि भर्खरै फोटोसुट सकियो । रियल लाइफमा पनि धेरै जात्रा हुनेगर्छ । सानोसानो कुरामा तनाव लिने भएकाले रियल लाइमा धेरै जात्रा भइरहन्छ । फिल्म जात्रैजात्रामा म सँग फिल्दो रोल पाएकी छु ।

अरु फिल्महरुको अफर कति आइरहेको छ ?

अफर त आइरहेकै हुन्छ तर मलाई मिल्ने स्क्रिप्ट पाएको छैन । यतिबेला जात्रैजात्रा र दालभात तरकारी नै तयारीमा छ । 

कलाकार बन्ने मोह कुनबेला आयो ?

हुनत मेरो परिवार एकदमै स्ट्रिक हुनुहुन्छ । यो क्षेत्रमा लाग्न परिवारबाट धेरै डराउनु पर्दथ्यो । म डान्समा अब्बल नै थिएँ । १८–१९ बर्षको उमेरमा मलाई मेरै फेक फेसबुक आइडीमार्फत मलाई म्यूजिक भिडियोका लागि अफर आयो । परिवारलाई छल्दै मैंले त्यो भिडियोमा अभिनय गरें ।

त्यसपछि ‘खली’ भन्ने म्यूजिक भिडियोमा अभिनय गरेको पहिलो पटक परिवारले हेरेपछि मलाई सहज हुनथाल्यो । त्यसपछि क्रमशः म यो क्षेत्रमा लागेको हुँ । परिवारका साथसाथै संजोगले मलाई धेरै साथ दिनुभयो ।