
काठमाडौं, वैशाख १४ । पछिल्लो समयमा पार्किन्सन्ससम्बन्धी रोगीको संख्या बढ्दै गएपछि जनचेतना जगाउने उद्देश्यले आज काठमाडौंमा दौड आयोजना गरिएको छ ।
बदलिँदो जीवनशैलीसँगै यो रोगका बिरामी बढ्दै गएपछि जनचेतना जगाउने उद्देश्यले पार्किन्सन्स नेपाल र रोटरी क्लब अफ राजधानीले संयुक्त रुपमा काठमाडौंमा दौड आयोजना गरिएको हो ।
भृकुटीमण्डपबाट सुरु भएको दौड पुतलीसडक, बानेश्वर हुँदै पुनः भृकुटीमण्डपमै आएर टुंगिएको थियो । दौडमा पार्किन्सन्स रोग लागेकाहरु पनि सहभागी भएका थिए ।
दौड समापन कार्यक्रममा मेडिसिटी अस्पतालका पार्किन्सन्स रोग विशेषज्ञ डा. बाबुराम पोखरेलले रोगको लक्षण शुरुमा थाहा पाउन कठिन हुने गरेको भए पनि उपचार भने सम्भव रहेको बताए । उनले सामानयतः ६० वर्ष उमेरमाथिका व्यक्तिलाई यो रोग लाग्ने गरेको भए पनि पछिल्लो समय कम उमेरका मानिसहरुमा पनि देखा पर्न थालेको जानकारी दिए ।
विश्वको कुल जनसंख्याको एक प्रतिशतमा पार्किन्सन्ससम्बन्धी रोग लागेको अनुमान छ । नेपाल सरकारले यो रोग लागेका व्यक्तिलाई उपचारमा सहयोग गर्न भन्दै एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्