
हरिविनोद अधिकारी – नेपाली राजनीतिमा भद्र सहमतिको कुरा बारम्बार आउने नियमित आकस्मिकताको एउटा उखान टुक्का जस्तै बनेको छ । त्यो उखान टुक्का पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नै बढी जोडिन्छ । पहिले उनैले अरुलाई भद्र सहमति तोड्ने भनेर गाली गर्थे भने अहिले माओबादी केन्द्रले उनैलाई त्यसका लागि दोषारोपण गरिरहेको छ । चारचारओटा वामपन्थी प्रधानमन्त्रीहरुले संविधानको एउटा धारा पनि तयार गर्न नसकेको अवस्थामा बनेका नेपाली काँग्रेसका तत्कालीन सभापति तथा संसदीय दलका नेता सुशील कोइरालाले प्रधानमन्त्री बनेर संविधान बनाउने जोखिमपूर्ण कार्य पूरा गरेका थिए ।
तिनै संविधान बनाउने भद्र र साहसी प्रधानमन्त्री सुशील कोइरालालाई पदबाट अपमानित तरिकाले निकाल्न एमालेले काँग्रेसले भद्र सहमति पूरा गरेन भनेर काँग्रेसलाई राष्ट्रिय राजनीतिबाट कोसौँ टाढा पुर्याउने कोकोहोलो गर्दागर्दै फेरि त्यही दोष अहिले उनैमाथि आएको छ । सुशील कोइरालालाई राष्ट्रपतिको लोभ र केपी ओलीलाई प्रधानमन्त्रीको लोभ देखाएकाले संविधान बनेको हो भन्ने माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले नै हिजोका दिनमा केपी ओलीलाई अति महत्वाकांक्षी बनाएका थिए र माधव—झलनाथको जोडीलाई अपमानित गर्नका लागि उक्साएका थिए । काँग्रेसलाई राजनीतिको मूलधारबाट नै अलग्याउन लागि परेका थिए । तर स्थिति बदलिएको छ र अहिले त्यही काँग्रेस नै डुब्नेलाई सिन्कोको सहारा बनेको छ माओबादी केन्द्र र त्यसका अध्यक्षलाई । छेउको सियो माझैमा कुनै बेला ।
काँग्रेसको महाधिवेशनमा गएर पनि काँग्रेसलाई शुभकामना दिँदासमेत बोलेको कुरा पूरा गर्ने बानी भएको काँग्रेस हेर्ने रहर साँचेका ओली र त्यही कामना गर्दै गाली काँग्रेसको भेलामा काँग्रेसलाई नै गाली गर्न भ्याउने उनै ओलीलाई अहिले उनकै सहयात्री नेकपा माओबादी केन्द्रले भद्र सहमति पूरा नगरेको भन्दै अविश्वासको प्रस्ताव संसदमा प्रस्तुत गरेको छ । तीन चौथाइ बहुमत भए जस्तै गरी सँसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई पाखामा नै पुर्याउने गरी कैयन निर्णयहरु गरिएका थिए माओबादी र राप्रपा नेपालसँग मिलेर । के के न गर्ने गरी उत्ताउलो पाराले चलाएको सरकारप्रति स्वयम् एमालेमा नै तीब्र असन्तोष थियो भन्ने कुरा अहिले आएर छताछुल्ल भएको छ ।
हुन त अहिलेका राजनीतिज्ञहरुमा सैद्धान्तिक चेत छैन तर पनि नेता त भएकै छन् । लोकतन्त्रजस्तो संवेदनशील व्यवस्थालाई चलाउने खालको अनुशासन , सहिष्णुता र आत्म संयमता कसैमा छैन । झन आफूलाई साम्यवादी भन्नेहरुमा न त लोकतान्त्रिक आस्था र त्यसको मर्मको चेत पलाएको छ, न त साम्यवादी सिद्धान्तको समानताको चेत नै बाँकी छ । शास्त्रीय नै सही, साम्यवादी चेतको सैद्धान्तिक र व्यावहारिक अभ्यास नै छैन । व्यक्तिगत स्वार्थलाई मात्र साम्यवादी चेत मान्ने र जताततै घुसेर आफ्नो स्वार्थ पूरा गर्नमात्र साम्यवादको खोल ओढेका नेपाली कम्युनिस्टहरुको नकाब त धेरै पहिले पञ्चायतले निकालेको नै थियो जनमत संग्रहको समयमा पञ्चायतका पक्षमा मतदान गर्न लगाएर (प्रत्यक्ष बहुदलमा लागेका मनमोहन अधिकारी, साहना प्रधान र विष्णुबहादुर मानन्धर जस्ता साम्यवादी नेताहरुबाहेक) ।
अहिले एउटा जटिलतम संक्रमणकालबाट मुलुक गुज्रिरहेको छ । गुत्थीमाथि गुत्थी जेलिँदै जाँदैछ । हालको सरकार विघटनको संघारमा छ । अर्को सरकार बन्ने सुरसारमा छ । जाने सरकार र आउने सरकारमा तात्विक भिन्नता के होला भनेर सोच्ने फुर्सद कसैलाई छैन । लोकतन्त्रका आधारभूत मान्यतालाई क्षतविक्षत बनाएर लोकतन्त्रको दुहाइ दिने काम होला जस्तो छ । तर एउटा कुरा शाश्वतरुपमा के देखियो भने दम्भ र अहङ्कार धेरै दिन टिक्दैन भन्ने नजिरचाहिँ बस्ने भयो ।
सरकार आउँछ , जान्छ । भर्खरै बेलायतमा पनि सरकार स्वेच्छाले गयो र अर्को तत्कालै आयो । त्यहाँ पनि संक्रमणकालले गाँजेको छ युरोपियन संघबाट बाहिरिने कुराले । वास्तवमा डेभिड क्यामरुनले राजीनामा दिनु जरुरी थिएन तर दिए किनभने उनी युरोपियन संघमा नै बस्न रुचाउँथे । बेलायतीले बाहिरिने निर्णय गरेपछि उनले आफ्नो नेतृत्व कमजोर रहेको ठानेर राजीनामा दिए र नयाँ सरकारका लागि सहयोग गरेर टेरेसा मेलाई प्रधानमन्त्रीको पदमा राखे । त्यो हो नजिर । त्यो हो नैतिकता । त्यो हो राजनीतिक भद्रता । आफ्नो सरकार अल्पमतमा पर्दासमेत म नै सरकार हुँ भन्दै करोडौँको खर्च गर्न पनि पछि नपर्ने, राजनीतिक नियुक्ति गर्न पनि नहिच्किचाउने अनि कुराचाहिँ ठूलाठूला नैतिकताका गर्ने बानीको अवस्थालाई कसरी व्याख्या गर्ने हो ?
पक्ष , विपक्ष र मध्यस्थकर्ता सबैले लोकतान्त्रिक मूल्यप्रति आस्थावान हुने हो भने अहिले नेपालका खासै कुनै समस्या छैन । तर समस्या त्यहीँ छ कि को पो हुने हो नैतिकवान ? को पो हुने हो राजनीतिक इमान्दार ? को पो हुने सहिष्णु ? को पो हुने हो संयम ? आउने दिन नेपाली राजनीतिमा समन्वय र समझदारीको समय होस् र मुलुकमा तीब्र ध्रुवीकरण होस् त लोकतन्त्रका पक्ष र विपक्षमा मात्र । अनैतिक र नैतिकहरुका बिचमा । असल र कमसलका बिचमा । आशा गरौँ, जे हुँदैछ, असलका लागि हुँदैछ भनेर सकारात्मक सोच राखौँ ।
प्रतिक्रिया दिनुहोस्