१० भाद्र २०८२, मंगलबार | Wed Aug 27 2025


देशभरका औलो रोगीमध्ये ७० प्रतिशत सुदूरपश्चिममा


0
Shares

डडेल्धुरा, वैशाख १५ । सुदूरपश्चिम प्रदेश औलोको उच्च जोखिममा रहेको एक तथ्यांकले देखाएको छ ।

तराईका दुई, पहाडका पाँच र हिमालका दुई गरी नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा २०७४ र २०७५ सालको तथ्यांकले औलोको उच्च जोखिम रहेको देखाएको हो ।

देशभरका औलोका बिरामीमध्ये सुदूरपश्चिम प्रदेशमा मात्रै ७० प्रतिशत रहेको अध्ययनले देखाएको हो । केही वर्षअघिसम्म तराईका जिल्लामा मात्रै देखिने औलो पछिल्ला बर्षमा हिमाली जिल्लामा समेत देखा गर्न थालेको छ ।

गत आर्थिक वर्ष २०७४/७५ को तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ५८० जनामा औलो देखा परेको थियो । विश्व औलो दिवसका अवसरमा आयोजित एक कार्यक्रममा स्वास्थ्य कार्यालय डडेल्धुराले प्रस्तुत गरेको तथ्यांकमा सुदूरपश्चिम प्रदेश देशभरिकै उच्च जोखिममा रहेको उल्लेख छ ।

नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने विश्व स्वास्थ्य संगठनसमक्ष प्रतिबद्धता जनाए पनि जनचेतनाको अभाव र पर्याप्त सरकारी प्रयास नभएकाले लक्ष्य पुरा गर्न कठिन हुने देखिएको छ । औलोको संक्रमण पोथी लामखुट्टेका कारण प्लाज्म मोडियम भाईवेक्स र प्लाज्म मोडियम फाल्जिफेरियम नामक जीवाणुका कारण मानिसमा सर्ने गर्दछ । 

सुदूरपश्चिम प्रदेशको कैलाली र डडेल्धुराको भित्री मधेस जोगबुढामा औलोको उच्च जोखिम देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख टंकप्रसाद चापागाईंले जानकारी दिए ।