१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


साउने सोमबारमा ब्रत बसेर के माग गर्छन महिलाहरु ?(भिडियो हेर्नुहोस)


0
Shares

-प्रज्ञा तिमिल्सिना, ईमेज

काठमाडौं, साउन ३ । आज साउने सोमबारको पहिलो दिन । हिन्दू नारी आजका दिन ब्रत बसी शिवजीको पूजा आराधना गर्दछन् ।

यसक्रममा काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवजीका मन्दिरहरुमा भक्तजनको घुईंचो लागेको छ भने आजैदेखि वोलवम यात्रासमेत शुरु भएको छ ।

साउन महिनाको धार्मिक रुपमा निकै महत्व छ । त्यसमाथि साउने सोमबारको झनै ठूलो महत्व हुने गरेको छ । यस दिन विवाहित र अविवाहित महिला भगवान् शिवको पूजा आराधना गरी ब्रत बस्ने गर्दछन् ।

साउन महिना शुरु भएदेखि नै हातमा मेहन्दी र हरियो चुरा लगाउन, रातो–पहेंलो र हरियो साडी पोते लगाउन पसलहरुमा निकै भीड देखिन्छ । काठमाडौंको असन, इन्द्रचोकलगायतका मूख्य बजारमा तिनै सामान किन्ने महिलाको भीड लागेको छ ।

साउन महिना भगवान शिवलाई मन पर्ने महिना र सोमबार मनपर्ने दिन भएकाले यो महिना र सोमवारको महत्व बढी रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । यहि महत्वलाई मानेर हिन्दू महिला सोमबारको ब्रत बस्ने पूजा गर्ने र साउन महिनाभर चोखो खाने गर्छन् ।

साउनको पहिलो सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशैभर शिवभक्त महिलाहरुको ठूलो भीड लाग्यो । पाशपत क्षेत्र त बिहानैदेखि रंगीन देखिन्थ्यो । हरियो–रातो–पहेंलो चुरा पोते र बस्त्रमा सजिएका विवाहित तथा अविवाहित महिलाको घुईंचोले वातावरणमा चमक थपिएको छ ।

महिलाहरु रंगीचंगी साडी तथा कुर्तामा सजिएर पशुपतिनाथको दर्शन गर्न पुगेका छन् । परापूर्वकालमा पार्वतीले शिवजी पति पाउँ भनी व्रत बसेको र पछि शिव भगवान्लाई पतिको रुपमा पाएकाले पनि साउनको सोमबारको महत्व बढेको भनिन्छ ।

सोमबारको व्रत विवाहित महिलाले पतिको लामो आयुको कामना गर्दै व्रत बस्छन् भने अविवाहिताले सुयोग्य वर पाउँ भन्ने कामना गर्दै ब्रत बस्ने गर्दछन् । यसपटक साउन महिनामा पाँच वटा सोमबार परेको छ । साउनमा पाँच वटा सोमबार पर्नुलाई झन् शुभ मानिने पण्डितहरु बताउँछन् ।

यसैगरी साउनको पहिलो सोमबारदेखि बोलवम यात्रा गर्ने परम्परा पनि छ । साउन महिनाभर शिव मन्दिरहरुमा महिलाको भीड तथा महत्वपूर्ण शिवालयहरुमा बोलबम यात्रा गर्ने परम्परा रहेको छ ।

महिलाहरुले साउन महिनामा आफ्नो कामना पूरा हुने विश्वासका साथ कठोर ब्रत बस्ने गर्दछन् तर ब्रत बस्ने नाममा पानीसमेत नखाई बस्नु भने स्वास्थ्यको लागि उचित नहुने चिकित्सकहरु सुझाउँछन् ।