फाइल फोटो
काठमाडौं, साउन ३ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार बस्ने भएको छ ।
‘प्रधानमन्त्री केपी शर्मा ओली स्वभाविकरुपमा अल्पमतमा परेकाले संविधान कार्यान्वयनको नेतृत्व संसदको ठूलो दलका नाताले कांग्रेसले गर्ने विषयमा बैठकमा छलफल हुने’ पार्टीले जनाएको छ ।
कांग्रेसले नेकपा माओवादी केन्द्रसँग भएको सहमतिअनुसार अविश्वासको प्रस्ताव पारित गराउने विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य विमलेन्द्र निधिले राससलाई जानकारी दिए ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार अर्को प्रधानमन्त्री बनाउन सकिँदैन भनी दिनु भएको धारणाकाबारेमा छलफल गरी अविश्वास प्रस्ताव पारित भएपछि नयाँ प्रधानमन्त्री बनाउने वातावरणका विषयमा पनि छलफल हुनेछ’–उनले भने ।
संविधान कार्यान्वयनका लागि मधेसी, जनजातिलगायतका समस्या समाधान गरी आर्थिक उन्नतिमा मुलुकलाई अघि बढाउने विषयमा बैठक केन्द्रित हुने कांग्रेसले जनाएको छ ।
बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भ्रातृसंस्थाको महाधिवेशनका सन्दर्भमा पनि छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
‘नेपाल विद्यार्थी संघ, नेपाल महिला संघको विधान संशोधन र नेपाल तरुण दल, नेपाल किसान संघ, नेपाल सांस्कृतिक संघलगायत भ्रातृसंस्थाको महाधिवेशनका विषयमा पनि बैठकमा छलफल हुनेछ’–उनले भने ।
पछिल्लो समयमा बढेको महँगी, कालोबजारीलगायतका समस्या समाधान गर्ने उपायका विषयमा पनि बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्