काठमाडौं, साउन ५ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला बुधबार घर फर्किएका छन् । डा. कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार भएकाले उनी घर फर्किएका हुन् ।
सयौं कार्यकर्ता र शभेच्छुबीचमा कार्यकर्तालाई हात उठाइ अभिवादन गर्दै उनी अस्पतालबाट बाहिरिएका थिए ।
उनलाई डा. भोला रिजाल, डा. हरिश जोशी, पत्नी डा. सुपात्रा कोइरालाले समाएर बाहिर गाडीसम्म ल्याएका थिए ।
असार २१ गते स्वास्थ्य अचानक गम्भीर भएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचार गराइरहेका कोइरालालाई एक हप्तापछि ‘फ्लोअप’ जाँचका लागि बोलाइएको डा. रिजालले जानकारी दिए ।
महामन्त्री कोइरालाले आफ्नो उपचारमा खटिएका सबै चिकित्सकलाई धन्यवाद दिएको पनि डा. रिजालले जानकारी दिए ।
उनले भने–‘अहिले उहाँ पूर्णरुपमा निको हुनुभएको छ । उहाँलाई एक महिनाजति आरामको आवश्यकता छ । अझै केही दिन औषधि पनि खानुपर्ने भएकाले धेरै धपडी हुने काम नगर्न सल्लाह दिएका छौं ।’
महामन्त्री कोइरालालाई टोखास्थित निवासमा लगिएको छ । उनलाई लिन केन्द्रीय सदस्या डा. मीनेन्द्र रिजाल, बलबहादुर केसीलगायत सयौं कार्यकर्ता ओम अस्पतालमा पुगेका थिए ।
महामन्त्री कोइरालाले साधारण खानपान गरिरहेका छन् । उनको उच्चरक्तचाप, मुटुको धड्कन र युरिनको मात्रा पनि सामान्य अवस्थामा आइसकेको डा. जोशीले बताए ।
उनको उपचारमा नेपालका ख्यातिप्राप्त चिकित्सकको टोली खटिएको थियो ।
डा. कोइरालाको उपचारमा उनकी पत्नी डा. सुपात्रा कोइराला, डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. युएन पाठक, डा. लव जोशी, डा. श्याम महर्जन, डा. सुवास आचार्य, डा. महेश भट्टराई, डा. रवीन्द्र श्रेष्ठ, डा. रावल पाठक, डा. पिके क्षेत्री, डा. हरिकिशोर श्रेष्ठ, डा. हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको थियो । रासस










प्रतिक्रिया दिनुहोस्