
काठमाडौं, साउन ५ । सभामुख ओनसरी घर्तीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्साशिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई बुधबार भेटेकी छन् । उनले डा. केसीको स्वास्थ्यबारे जानकारी लिइन् ।
चिकित्साशिक्षा सुधारको माग राख्दै ११ दिनदेखि अनशनरत् डा .केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको खबर पाएपछि सभामुख घर्तीले डा. केसीलाई स्वास्थ्य ख्याल राख्न आग्रह गर्दै माग पूरा गर्न पहल गर्ने आश्वासन दिएकी हुन् ।
डा. केसीले सभामुख ओनसरी घर्तीलाई ‘तपाइँको घर कहाँ हो र त्यहाँका जनता उपचार गर्न कहाँ आउँछन् ?’ भन्ने प्रश्न गर्दै चिकित्साशिक्षा सुधार गरेमात्र सबै नेपालीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताएका थिए ।
डा. केसीले भने–‘त्यस क्षेत्रका जनताले गुणस्तरीय उपचार सेवा पाउन भनेर आफूले दाङमा मेडिकल कलेज खोल्न सरकारलाई पटक–पटक आग्रह गर्दासमेत बजेट विनियोजन भएन । सबैलाई उपत्यकाभन्दा बाहिर जानै मन छैन ।’
सभामुखसँगको भेटमा डा. केसी शिक्षालाई सेवाको भावमा नभइ नाफामूलक संस्थाकोरुपमा विकास गरिँदै लगेकाले त्यसको विरोधमा अनशन बस्नुपरेको स्पस्ट पारे ।
सभामुख घर्तीले डा. केसीका मागका विषयमा दलसँग छलफल गर्नेसमेत आश्वासन दिएकी छन् ।
सभामुख भेटका लागि शिक्षण अस्पताल पुग्दा अस्पतालका चिकित्सकशास्त्रका विद्यार्थीले डा. केसीले उठाएका माग पूरा गर्नुपर्ने भन्दै नारा लगाएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्