
राजु चौधरी (इमेज)
चितवन, असार २६ । नेपालले दुई वर्षअघि छिमेकी राष्ट्र चीनलाई दुईजोडी एकसिङे गैंडा उपहार दिने भनी गरेको निर्णय अन्ततः कार्यान्वयनको चरणमा पुगेको छ ।
उपहारस्वरुप मित्रराष्ट्र चीनलाई प्रदान गर्न लागिएको एकजोडी एकसिङे गैंडा मंगलबार काठमाडौं पठाइएको छ । चितवनको सौराहामा गैंडाको बिदाइ गरिएको छ ।
पहिलो चरणमा भाले (भद्र) र पोथी (रुपसी) गैंडालाई चीन पठाउन लागिएको हो ।
मंगलबार काठमाडौं पुर्याएपछि एकदिनको विश्रामपश्चात् बिहीबार चीनकै एअर कार्गोमार्फत् चीन पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।
गैंडालाई खानका लागि भुइँघाँस, फलफूल, सागसब्जी, विशेषखालको दूध र पानीको व्यवस्था गरिएको छ ।
खोरमा सामान्य अवस्थामा उभ्याएरै गैंडा चीन लगिनेछ ।
नेपालबाट पशु चिकित्सक र रेखदेख गर्ने प्राविधिक गरी पाँचजना पनि गैंडा पुर्याउन चीन जाँदैछन् । यी दुईओटा गैंडा गोन्जाओको चिडियाखानामा राखिनेछ ।
गैंडाको स्वास्थ्य अवस्था चेकजाँचका लागि चिकित्सक पठाइनुका साथै सरकारले नियमित निगरानी बढाउने वन तथा वातावरण मन्त्रालयकी सहसचिव राधा वाग्ले बताउँछिन् ।
आफ्नो ठाउँको गैंडा चीन पठाउँदा स्थानीय समुदायमा दुःखको अनुभूति हुनु स्वाभाविक हो । त्यसैले चीनमा भद्र र रुपसी गैंडाको अवस्था राम्रो रहोस् भन्ने कामना गर्छन्, रत्ननगर नगरपालिकाका मेयर नारायण वन ।
नेपाल सरकारले विभिन्न राष्ट्रहरुलाई समय–समयमा गैंडा उपलब्ध गराउँदै आएको छ ।
यसअघि, भारत, अमेरिका, जापान, थाइल्यान्ड, बेलायत, जर्मनी, बंगलादेशलगायतका देशलाई २६ ओटा गैंडा उपहारस्वरुप प्रदान गरिसकेको छ । जसमध्ये चारओटा प्राकृतिक बासस्थान र २२ ओटा चिडियाखानामा राखिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज एकसिङे गैंडाको विश्वमा दोस्रो सबैभन्दा ठूलो संख्या रहेको क्षेत्र हो ।
सन् २०१५ को गणनाअनुसार नेपालमा कुल ६४५ ओटा गैंडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमामात्रै ६०५ ओटा गैंडा रहेका छन् ।
सरकारले वि.सं. २०७३ असार २६ गते संरक्षण, प्राकृतिक प्रजनन्, अध्ययन, अनुसन्धान र संरक्षण शिक्षा प्रवद्र्धन गर्न उपहारस्वरुप चीनलाई दुईजोडी गैंडा उपहारस्वरुप दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्