Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


‘प्रभातफेरी’मै रुमल्लिएको विद्यार्थी आन्दोलन


0
Shares

–लाओस राई
प्रभातफेरी भन्नाले बिहानको समयमा जुलुसका साथ नगर परिक्रमा गर्नुलाई बोध गराउँदछ । यो प्रायः विशेष समारोहमा गर्ने गरिन्छ । तर आजको सन्दर्भमा प्रभातफेरीको महत्व, अर्थ र हेतु फरक प्रसङ्गसँग जोड्नु उपयुक्त देखिन्छ । नेताको घर–घरमा बिहान लाग्ने लावा–लस्कर कुनै विभूतिको सम्झनामा गरिने प्रभातफेरी भन्दा कम देखिदैंन । यसलाई अर्को वाक्यांशमा भन्ने हो भने ‘घोकन्ते विद्या, धावन्ते खेती’ भन्दा पनि फरक पर्दैन । त्यसैले नेपाली राजनीतिमा प्रभातफेरी त चाकडी र चाप्लुसीको पर्याय वा सारथी शब्दको रुपमा स्थापित भईसकेको छ भन्दा फरक नपर्ला । किनकी नेताहरु ‘छोटे सरदार’ झैं पार्टी कार्यालयभन्दा घरमै भीड जम्मा गर्ने मनस्थितिमा भएपछि प्रभातफेरीपूर्ण (चाकडी, चाप्लुसी) राजनीतिको थालनी हुने नै भयो ।

यसलाई यसरी प्रष्ट पारौं, ‘जसले बढी खेतमा धाउँछ उसकै बाली राम्रो हुन्छ’ भने झैं जो बढी नेताको दैलोमा पुग्न सक्यो उसकै पदोन्नति हुने हुँदा वा मूल्यांकनको मापदण्ड पनि चाकडी र चाप्लुसीलाई मान्न थालेपछि ‘प्रभातफेरी’ एकखाले राजनीतिक संस्कार झैं स्थापित भएको देखिन्छ । यस्तो संस्कार राणाकालमा बडा शक्तिशाली, फुर्तिलो र सानका साथ स्थापित थियो । श्री ३ राणालाई जसले बढी चाकडी बजायो वा खुशी पार्न सक्यो उनलाई जमिन उपहार साथै जे मनमा लाग्यो त्यही दिने गरिन्थ्यो । पुरानो संस्कार र संस्कृतिलाई विस्थापित गर्दै नयाँ सिस्टमको व्यवस्था गर्नु आधुनिकताको विशेषता पनि हो ।

तर नवयुगका नौजवानहरु पुरानै जमानाको ताज धारण गरेका नेताहरुको दैलो–दैलोमा दिनहुँ पुग्नुलाई प्रभातफेरी संस्कृति वा चाकडी, चाप्लुसी नै हो भन्न खोजिएको हो । जनताको काम लिएर नेताको दैलोमा पुग्नुभन्दा पनि चाकडीमै तल्लिन हुने संस्कार यसरी राजनीतिमा मौलाउन थालेको प्रष्ट छ । देशको उन्नती, प्रगती, सम्मृद्ध समाजको लागि प्रभातफेरी हुन त अति राम्रो हुनेथियो । तर त्यस्तो हुन सकिरहेको छैन । यस्तो राजनीतिको अन्त्य तत्काल हुन पर्दछ वा युवा विद्यार्थीहरुले यो प्रवृति त्याग्नु पर्दछ । यसबाट एकातिर समयको बर्बाद हुन्छ भने अर्कोतिर युवा वर्गमा सृजनशीलताको पनि कमि हुन जाने देखिन्छ । त्यसो हुनाले यो संस्कार, त्याग्न सके समग्र युवा विद्यार्थीहरुको लागि उचित र उत्तम हुने थियो ।

विद्यार्थी आन्दोलन एक यस्तो अस्त्रको हो जसको माध्यमले समग्र देशको सम्पूर्ण व्यवस्था नै परिवर्तन हुन्छ । जुन शक्ति समाज रुपान्तरणका निमित्त महत्वपूर्ण सारथीका रुपमा सिद्ध भईसकेको छ । त्यो शक्तिको उचित व्यवस्थापन गर्न नसक्दा विश्वका धेरै देशमा आन्दोलन भएका छन् । एक पटक चीनको सन् १९८९ विद्यार्थी आन्दोलनलाई स्मरण गर्ने हो भने त्यो सबैभन्दा संहारकारी थियो । धर्नामा बसेका हजारौं विद्यार्थीमाथि ट्यांकर गुडाएर दसौं हजार विद्यार्थी मारिए । तत्कालिन शासकले विश्वसामु कुरुपता प्रदर्शन गरे । त्यसको सर्वत्र विरोध पनि भयो । त्यो शान्तिपूर्ण धर्ना केवल प्रजातन्त्रका निमित्त थियो । सन् २०१४ मा सेप्टेम्बर देखि डिसेम्बरसम्म चार महिना चलेको विद्यार्थी आन्दोलनले नयाँ चरणमा हङकङलाई प्रवेश गरायो । उता भारतको विद्यार्थी आन्दोलनको प्रसंग कोट्याउने हो भने १ सय ५० वर्षको लामो इतिहास छ । सन् १८४८ मा बैज्ञानिक शिक्षा र ऐतिहासिक समाजको छलफलबाट सुरु भएको विद्यार्थी आन्दोलन पछि १९१८ सम्म पुग्दा आधुनिकता विद्यार्थी आन्दोलनको रुपान्तर हुँदै पछि स्वतन्त्र भारतको आन्दोलनमा समाहित हुन पुग्यो । अंग्रेज विरोधी सबै मोर्चामा सहभागी भए ।

नेपालको सन्दर्भमा वि.स. २०३६ सालको विद्यार्थी आन्दोलन सबैभन्दा महत्वपुर्ण र ऐतिहासिक मानिन्छ । जुन आन्दोलनले व्यवस्था छान्न पाउने अधिकारको अधिकारी जनतालाई बनाए । जसको बलमा जनमत संग्रह भयो । यो त भयो विद्यार्थीको बलमा सिर्जना भएको राजनीतिक आन्दोलनको रुपान्तरणको उदाहरण । यसका साथसाथै धेरै उदाहरण छन् । जुन राजनैतिक परिवर्तन प्रारम्भ विद्यार्थी नगरेको होस् ।

विद्यार्थी आन्दोलनको लक्ष्य देश निर्माणको आधारस्तम्भ युवा विद्यार्थी नै हो भन्ने तर्कसँग विमति नराख्ने हो भने समयको अन्तरसँगै यसको कार्य दिशा, उद्देश्य र लक्ष्यमा पनि आवश्यकता अनुसार रुपान्तरण हुन जरुरी देखिन्छ । त्यो रुपान्तर हुनु भनेको राष्ट्र निर्माणको निमित्त हो । एक ढंगले युवालाई तीन समुहमा विभाजन गरी हेरौं । युवा, आम युवा र राजनीतिक पार्टीसँग आबद्ध युवा विद्यार्थी । यी तीन समुहमा विभाजित युवाहरु उमेरको हिसाबले एकै समुहमा पर्ने भएता पनि आ–आफ्नै निजी स्वार्थ र बैचारिक घमण्डको कारण एक–आपसमा एकता हुन सकेको छैन । युवा ठुलो उदेश्यको साथ देशसँग धेरै अपेक्षा राख्दछ । जब उनको इच्छा, चाहना र आवश्यकता पुरा हुँदैन, तत्पश्चात निराश हुँदै आम युवामा रुपान्तरित हुन्छ । देशको राजनीतिक व्यवस्था र नेतृत्वप्रति आक्रोस ब्यक्त गर्न थाल्दछ । जो अघिल्लो पुस्ताको युवाले अपेक्षा गरेका थिए । नवयुवा जस्तो हजारौं, लाखौं युवाहरु छन् जो यतैतिर भौतारीरहेका छन् । त्यसैले त्यो आम युवामा मिसिन गयो ।

यहाँ आम युवा भनेको सबै अवसरबाट बन्चित युवा समूह, अर्कोतिर राजनीतिक आदर्शबाट निर्देशित युवा जो भविष्यमा आफुलाई देशको कार्यकारी हुँ भन्ने समूह । युवाहरुमा जे–जस्तो ध्रुवमा ध्रुविकरणका कारण भएता पनि यी तिनै समुहको लक्ष्य र उद्देश्य एकै हुनपर्ने थियो । उमेर, योग्यता, सिप र क्षमताको आधारमा राज्यको सबै अंगमा युवाको पूर्ण सहभागिता हुन जरुरी छ भन्ने पक्षमा जोड दिनुपर्ने थियो । तर त्यो पनि नितान्त निजी स्वार्थको कारणले हुन सकेन । त्यसको प्रत्यक्ष असर युवा वर्गलाई नै पर्ने देखिन्छ । त्यसकारण समस्त युवाहरुको समस्या कै भएपनि व्यक्तिमा अन्तरनिहित निजी स्वार्थको कारण मुख्य समस्या यथावत रहीरह्यो । जसले गर्दा बेरोजगारीको समस्या झन्–झन् विकराल बन्दै जानाले देशमा अस्थिरता कायमै रहने हुन्छ ।

यस्तै कारणबाट देश बाँझिने (उत्पादन गर्न नसकिने) सम्भव रही नै रहन्छ । भिन्न–भिन्न कारण र नदेखिने स्वार्थले गर्दा नै समस्याको समाधान हुन सकिरहेको छैन । त्यसकारण राजनीतिक पार्टीमा आवद्ध युवाले जे गर्न पर्ने हो, जे गर्ने हो त्यो देशको समग्र युवा वर्गको हितको निमित्त हुन जरुरी छ । एक युवादेखि सम्पूर्ण युवा विद्यार्थीको एउटै उद्देश्य हुन जरुरी छ । त्यसो हुँदा विद्यार्थी आन्दोलनको लक्ष्य र उद्देश्य भनेको देश निर्माणमा युवा विद्यार्थीको प्रत्यक्ष सहभागिता हुनु पर्दछ भन्ने ढंगको स्पष्ट खाका र योजना सहितको आन्दोलन जरुरी नभएको होइन ।

प्रत्येक वर्ष उत्पादन हुने जनशक्तिको तत्कालै व्यवस्थापन हुने प्रबन्धको निमित्त सरकारसँग लड्न सक्ने हुन आवश्यक छ । जसले गर्दा देशमा बेरोजगारीको समस्या समाधान हुनगई उत्पादन बढ्ने हुँदा पुंजी निर्माणमा बृद्धि हुनाले राष्ट्रिय आम्दानीमा सकारात्मक प्रभाव पर्न जान्छ । त्यसकारण अबको विद्यार्थी आन्दोलनको लक्ष्य भनेको समृद्ध नेपाल निर्माणको निमित्त हुनु आवश्यक छ । युवालाई स्वाबलम्बी बनाई आत्मनिर्भरको बाटोमा उन्मुख गराउनु पर्छ । आफू सक्षम र सवल बन्न ‘प्रभातफेरी’लाई त्यागेर युवालाई समृद्ध र सक्षम बनाउने योजना निर्माणमा जुट्नुपर्छ ।
(लेखक नेविसंघका केन्द्रीय सदस्य हुन्)