१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


मनसुनीरेखाको सक्रियताले देशभर भारी वर्षा, बाढी–पहिरोको खतरा, सतर्क रहन सुझाव


0
Shares

                                                       फाइल फोटो

काठमाडौं, साउन ६ । मनसुनीरेखा नेपालतिर भएका कारण विहीबार देशैभर वर्षात् भएको छ ।

न्यूनचापीय क्षेत्रमा मनसुनी गतिविधि केन्द्रित भएकाले त्यसको असरस्वरुप नेपालमा वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले राससलाई जानकारी दिए ।

‘मनसुनीरेखा भनेको पानी पर्नका लागि बनेको न्यूनचापीय क्षेत्रहरुको लाइन हो, यो नेपालको पूर्वी भागबाट प्रवेश गरेको छ, न्यूनचापीय क्षेत्रमा अरबियन सागर र बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावले मौसममा खराबी आएको छ’–उनले भने ।

‘खासगरी मध्य र पूर्वी भेगमा भारी वर्षात् भएको र योक्रम रातिसम्म जारी रहनेछ । तुलनात्मकरुपमा पश्चिमी भेगमा कम पानीपर्ने’ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विगत तीन/चार दिनदेखि निरन्तर (केही घन्टा रोकिँदै) परेको वर्षात् अझै एक/दुई दिन जारी रहने मौसमविद् अर्यालले बताए ।

निरन्तरको भारी वर्षाले पूर्वी पहाडी भेगमा बाढी–पहिरोका घटना बढ्नसक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन मौसमविद्ले सुझाएका छन् ।

महाशाखाको पछिल्लो विवरणअनुसार विहीबार सबैभन्दा बढी सिमरामा १६० र सबैभन्दा कम ओखलढुंगामा ०.२ मिलीमिटर वर्षात् भएको छ ।

काठमाडौंमा १२ मिलीमिटर वर्षात् भएको छ ।

त्यसैगरी, विराटनगरमा ७३, धनकुटामा ११, पोखरामा ३५, वीरेन्द्रनगरमा ६०, धनगढीमा १४ मिलीमिटर वर्षात् भएको छ । रासस