५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


इमेज लोककलाकार सिजन–२ को ‘ग्रान्ड फिनाले’ शुक्रबार


0
Shares

गृष्मा राजभण्डारी (इमेज)

काठमाडौं, वैशाख १२ । इमेज लोककलाकार सिजन–२ को ‘ग्रान्ड फिनाले’ वैशाख १३ गते शुक्रबार हुँदैछ ।

इमेज लोककलाकार बन्न सफल प्रतिभाले गीत–संगीतको क्षेत्रमा विभिन्न अवसर र पुरस्कार हात पार्न सफल हुनेछन् ।

नेपाली लोकसंगीतको संरक्षण र श्रीवृद्धीमा जुटेको इमेज च्यानलले विगत दुई वर्षदेखि इमेज लोककलाकार नामक ‘रियालिटी शो’ गर्दै आएको छ ।

देशैभर छरिएर रहेका प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्न इमेज ग्रुप अफ कम्पनीज्ले यो प्रयासलाई निरन्तरता दिइरहेको हो ।

नेपाली सांगीतिक क्षेत्रको उन्नयनका लागि इमेज च्यानलले थालेको यात्रामा देशका विभिन्न स्थानबाट आएका कलाकारले आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् ।

यसक्रममा देशका विभिन्न स्थानमा भएका ‘अडिसन राउन्ड’मा एक हजारभन्दा बढी कलाकार सहभागी भएका थिए ।

जसमध्ये विभिन्न चरण पार गर्दै विगत ८ महिनाको अवधिमा ‘फाइनल राउन्ड’ पार गरी ‘टप टेन’पछि पाँचजना प्रतियोगी ‘टप फाइभ’मा पुगेका छन् ।

यी पाँच प्रतियोगीबीच आउँदो शुक्रबार अन्तिम महान् प्रतिस्पर्धा अर्थात् ग्रान्ड फिनाले हुँदैछ ।

टप फाइभमा पर्न सफल बत्ती थापामगर, भगवती खाती, शीतल गुरुङ, रामकुमार नेपाली र मोहन केसीबीच उत्कृष्टमध्ये सर्वोत्कृष्टको टुंगो यही ग्रान्ड फिनालेमा लाग्नेछ ।

यी प्रतिस्पर्धीले यहाँसम्म आईपुग्दा पूर्वेली होस वा पश्चिमेली, देउडा, काँठे होस् वा स्थानीय भाका अनि परदेशी, ‘ओल्ड इज गोल्ड’ वा ‘सिङगिङ वीथ स्टार’ नै किन नहोस्, सबैमा आफूलाई अब्बल सावित गरिसकेका छन् ।

समग्रमा १० र विशेष तीनजनाको निर्णायकमन्डलले प्रतियोगीहरुको प्रस्तुतिलाई परख गरिरहेका छन् ।

निर्णायकमन्डलसँगै उत्कृष्ट प्रतियोगी छनोटमा गीत–संगीतका पारखी दर्शकहरुको पनि सहभागिता रहेको छ ।

टप फाइभबाट एकजनाले इमेज लोककलाकारको अर्वाड हात पार्नेछन् । यसैगरी, टप टेनमा रहेकामध्ये दर्शकहरुको मतका आधारमा एकजनाले ‘पब्लिक च्वाइस अवार्ड’ हात पार्नेछन् ।

ग्रान्ड फिनालेको प्रत्यक्ष प्रसारण इमेज च्यानल, इमेज एफ ९७.९ र इमेज न्यूज एफ एम १०३.६ बाट वैशाख १३ गते शुक्रबार साँझ ६ बजेबाट हुनेछ ।