Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


बाधा अड्काउ फुकाउप्रति देउवाको आपत्ति


0
Shares

काठमाडौं, साउन ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारद्वारा राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउका लागि गरिएको सिफारिसप्रति आपत्ति जनाएका छन् ।

सरकारविरुद्ध संसदमा पेश गरिएको अविश्वास प्रस्तावबारे आफ्ना धारणा राख्ने क्रममा देउवाले यस्तो जनाएका हुन् । उनले भर्खरै आफूले सरकारबाट बाधा अड्काउ फुकाउका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको कुरा सुनेको उल्लेख गर्दै भने, ‘हिजो संविधानसभाबाट कयौं प्रधानमन्त्री बने, बाधा अड्काउ फुकाउको आवश्यकता परेन, अहिले संसदमा अविश्वास प्रस्ताव पेश भएपछि किन त्यसको आवश्यकता पर्‍यो भन्ने बुझ्न सकेको छैन ।’

उनले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई स्वीकार गरिसकेपछि संसदबाट बहुमत ल्याउने नेता प्रधानमन्त्री हुने हो, यसमा संविधानले थप व्याख्या गरिरहनै पर्दैन ।’

देउवाले प्रजातन्त्र र संसदीय अभ्यासलाई आत्मसात् गर्दै राष्ट्र निर्माणको मार्गमा एकजुट भएर अघि बढ्नु अहिलेको समयको माग भएको बताए ।

उनले राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति राष्ट्रको हितमा हुनुपर्नेमा जोड दिँए भने दातृ संस्था र जनताको करबाट सङ्कलित राज्यकोषको उपयोग कुनै दल विशेषले आफ्नो पार्टी र कार्यकर्ताको हितका लागि मात्र खर्च गर्नु राष्ट्रहित नभएको बताए ।