Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


महाधिवेशनको सुनिश्चितताका लागि नेविसंघका नेताहरु रिले अनशनमा


0
Shares

काठमाडौं, साउन ९ । तोकिएकै मितिमा नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन हुनुपर्ने भन्दै सो संगठनका केही नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबारबाट रिले अनशन सुरु गरेका छन् ।

आठौं पटकसम्म महाधिवेशन घोषणा गरी पार्टी नेतृत्वको दवावमा स्थगित हुँदै आएको छ । करिब ५ वर्ष अगाडि ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने म्याण्डेड लिएर आएको वर्तमान केन्द्रीय समितिले यही श्रावण २३ देखि २५ सम्म हुने भन्दै महाधिवेशनको मिति र स्थान घोषणा गरेको छ ।

सोही बैठकबाट नेविसंघमा जारी विवाद समाधानका लागि गठित ७ सदस्यीय कार्यदलले विधिसम्मत तथा प्रक्रियागत रुपमा नेतृत्व तथा प्रतिनिधि चयन प्रक्रिया भनिए पनि ठिक विपरीत अपारदर्शी र प्रक्रिया विपरित प्रतिनिधि भागवण्डा र बाँडफाँड गरिएको भन्दै नेविसंघका नेता पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेको नेतृत्वमा ११ जना विद्यार्थी नेताहरुले रिले अनशन शुरु गरेका हुन् ।

नेवि संघ केन्द्रीय सदस्य तथा विद्यार्थी नेता बलदेव तिमिल्सिनाले नेविसंघको महाधिवेशन तोकिएकै समयमा विधिवत् रुपमा सम्पन्न गर्न र नेवि संघको विधि र विधान विपरित भागवण्डा गरिएका नेतृत्व र करिब १६०० महाधिवेशन प्रतिनिधिहरु खारेज गरी विधिसम्मत् नेतृत्व र प्रतिनिधि चयनमा लागि आफुहरुले बाध्य भएर रिले अनशन शुरु गर्नु परेको बताए ।

उनले पार्टी नेतृत्वले नेविसंघभित्र स्थापित र विस्थापितको नीति अवलम्वन गरेको बताउँदै विधि र पद्धतिबाट नेतृत्वको छनोट गरिनुपर्ने बताए ।

रिले अनशनको नेतृत्व गरिरहेका काफ्लेले पटक पटक नेतृत्वले नेविसंघको महाधिवेशन समयमा गर्न पहल नगरेको र आफुहरुले नेतृत्व समक्ष राखेको जायज मागहरु समेत पुरा गर्न कुनै तत्परता नदेखाएको कारण आफुहरु बाध्य भएर रिले अनशनमा बस्नुपरेको बताए । नेतृत्वले भागवण्डा गरेको विवाद टुङ्गिएको भनिएका ६४ जिल्लामध्ये ११ जिल्लामा विधि र विधान विपरित नेतृत्व स्थापित गर्न खोजिएको र बाँकी ११ जिल्लामा हालसम्म जिल्ला अधिवेशनको प्रक्रिया नै प्रारम्भ नगरी जवर्जस्ती रुपमा गर्न खोजिएको महाधिवेशन आफुहरुलाई मान्य नहुने बताए ।

अनशन कार्यक्रममा काभ्रे, धादिङ, संखुवासभा, जाजरकोट, गुल्मी, अर्घाखाँची, बाँकेलगायतका जिल्ला अध्यक्ष र उपत्यकाका नेपाल ल क्याम्पस, ग्रामिण आदर्श क्याम्पस, थापाथली इञ्जिनियरिङ्ग क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, पद्ममकन्या बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस लगायत अन्य अधिकांश क्याम्पस इकाईको समर्थन तथा ऐक्यबद्धता रहेको बताइएको छ ।