संसदमा ओलीले भने– एक माघले जाडो जाँदैन « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


संसदमा ओलीले भने– एक माघले जाडो जाँदैन


0
Shares

काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी ओलीले जसरी भएपछि सरकारमा बस्नुपर्ने मान्यता आफूमा नरहेको बताएका छन् । व्यवस्थापिका संसदमा सरकाविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि जवाफ दिदैं उनले जसरी पनि कुर्सीमा टाँसिइरहन चाहने नेता आफू नभएको प्रष्ट पारे ।

उनले प्रमुख प्रतिपक्षी दलले राष्ट्रिय सहमतिको सरकार गठन गर्न सम्भव छैन भनेर राष्ट्रिय सरकार गठनको ढोका बन्द गरिसकेको अवस्थामा सत्ता साझेदार दलले नै एउटा सरकार ढालेर अर्को सरकार गठनको बाटो रोज्नु अनौठो भएको बताए ।

भूकम्पपछि तहस नहस भएको, नाकाबन्दीका कारण मुलुकको जनजीवन नराम्ररी प्रभावित भएकोजस्ता समस्या विरासतमा लिएर आफूले सरकारको नेतृत्व सुरु गरेको उनको भनाइ थियो । मुलुकका सामू उपस्थित समस्या समाधानमा आफ्नो नेतृत्वको सरकारले सक्दो प्रयास गरेको उनले बताए ।

उनले लोकतन्त्रमा सरकार परिवर्तन सामान्य कुरा भएको बताए । तर मुलुकलाई नै प्रभावित पार्नेगरी राजनीतिक अस्थिरता बढाउनु उचित नहुने उनको भनाइ थियो ।

उनले समय गतिशील रहेको भन्दै सत्ता गठबन्धनमा माओवादी केन्द्रले देखाएको व्यवहारमा इमानदारी नदेखिएको बताए । उनले भने, ‘एक माघले जाडो जाँदैन ।’ आफ्ना अनुभव नयाँ गठबन्धनका सहयात्रीहरुलाई पाठ हुन सक्ने उनको भनाइ थियो ।

शान्ति प्रक्रियामा आफ्नो र आफ्नो पार्टीको भूमिकामा समेत प्रश्न उठाउने काम भएकोमा उनले आपत्ति जनाए । ‘एउटा पार्टी बन्दुकबाट सत्ता कब्जा गर्छु भन्ने, अर्को पार्टी टाउकाको मूल्य तोकेर बन्दुकबाटै ठेगान लगाउँछु भन्ने,’ ओलीले भने, ‘अनि बीचमा बसेर दुबै पक्षलाई तानेर मिलाएर निकास खोज्यो, आज त्यही पार्टीलाई आरोपको भारी बोकाइदैंछ ।’