२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


‘संजोग’लाई पिजी सर्टिफिकेट, सुष्मा र सविनको रोमान्स पर्दामा


0
Shares

काठमाडौं । ‘संजोग’ लाई चलचित्र सेन्सर बोर्डले ‘पिजी’ सर्टिफिकेट दिएको छ । चलचित्रमा भरपूर्ण एक्शन भएकाले सेन्सरले ‘पिजी’ सर्टिफिकेट दिएको यसका निर्माता उमेश उप्रेतीले बताए ।

यो चलचित्र यही आउँदो शुक्रबार एकसाथ देशभर रिलिज हुँदैछ ।

चलचित्र ‘संजोग’ मा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री सुष्मा कार्कीको अनस्क्रिन रोमान्स रहेको छ । यसै चलचित्रमार्फत सविन र सुष्माको जोडीलाई पहिलोपटक पर्दामा देखिन लागेको हो ।

सुष्मा अभिनीत चलचित्र प्रदर्शनमा ग्याप भइरहेका बेला ‘संजोग’मा देखिन लागेकी हुन् । सविन र सुष्माको जोडीलाई निर्माणपक्षले प्रमोसनको अस्त्र बनाएका छन् । हुन पनि ‘संजोग’ मा यी जोडी निकै जमेका छन् ।

उमेश उप्रेतीको निर्माण रहेको यस चलचित्रलाई बेदप्रसाद भूर्तेलले निर्देशन गरेका हुन् । निर्माता उप्रेतीका अनुसार ‘संजोग’ नारीप्रधान एक्सन चलचित्र हो ।

चलचित्रमा त्रिकोणात्मक प्रेमकथा हेर्न सकिन्छ । ‘संजोग’ बाट निर्माता उप्रेती आशावादी छन् । हाल चलचित्र प्रमोसनमा ब्यस्त रहेका उनले भने, ‘सविन र सुष्माको केमेष्ट्रिले गर्दा पनि चलचित्र दर्शकले रुचाउँछन् भन्ने लागेको छ ।’

युजेस फिल्मस् प्रालिको ब्यानरमा निर्मित ‘संजोग’ मा सविन र सुष्माका अलावा प्रज्वल गिरी, पुष्कर भट्ट र खगेन्द्र उप्रेतीको पनि मुख्य अभिनय छ । उज्वल थेबे लिम्बु र कुमार विवाहितको संगीत रहेको ‘संजोग’ मा गोविन्द राईको नृत्य, चन्द पन्तको द्वन्द्व र हरिनारायण चौधरीको छायांकन रहेको छ ।