१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


नारायणीमा खतराको साइरन बज्यो, सतर्क रहन आग्रह


0
Shares

                                                                         फाइल फोटो

चितवन, साउन ११ । चितवनको नारायणणी नदीमा बाढीले खतराको संकेत नाघेपछि साइरन बजाइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक विनोदप्रकाश सिंहले नारायणीले खतराको संकेत नाघेपछि साइरन बजाइ सम्बन्धित मातहतका निकायलाई परिचालन गरिएको जानकारी दिए ।

उनकाअनुसार पश्चिम चितवनको गोलाघाट र मंगलपुरको शरणपुरमा बाढी पस्ने सम्भावना बढेकाले सेना प्रहरी र विपद् जोखिम व्यवस्थापनका टोली खटाइएको छ ।

मंगलबार दिउँसो १ बजेबाट खतराको चिह्न ८.४ मिटर बाढीको सतह हुनुपर्नेमा झन्डै ८.५ पुगेको समितिले जनाएको छ ।

यसअघि, मंगलबार बिहान १० बजेको समयमा नारायणी नदीको सतह ७.४ मिटर पुगेको जलमापन केन्द्र देवघाट, चितवनले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति चितवनकाअनुसार ७.३ मिटर बाढीको तह भएमा चेतावनीको तह मानिन्छ ।

१० बजे बाढीको सतह ७.४ मिटर पुगेर चेतावनीको लेवल नाघेकामा अहिले ८.५ पुग्न लागेकाले खतराको घन्टी बजाइएको समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए ।

‘अहिले खतराको तह नाघेको छ, सबै क्षेत्रमा सतर्क रहन आग्रह गर्दछ’–लुइँटेलले भने ।

अहिले बाढीको सतह बढ्दोक्रममा रहेको छ । दुई दिनअघि यहाँ चेतावनीको तह नाघेर ७.५ मिटर पुग्दा पश्चिम चितवनको शरणपुरमा पानी पसेको थियो भने ड्यामका जालीसमेत बगाएको थियो । सो क्षेत्रमा अहिले बोरामा गिट्टी भरेर अस्थायी ड्याम बनाइएको छ ।

सूचना अधिकारी लुइँटेलकाअनुसार ८.४ मिटर बाढीको सतह भएपछि यहाँ खतराको संकेत दिने गरिएको छ ।

वर्षा मापन केन्द्रमा असर
चितवनको नारायणणी नदीमा अहिलेम्मकै उच्चबहावको बाढी आउँदा जिल्लामा रहेको वर्षा मापन केन्द्रको सूचना दिने प्रणालीमा असर पुगेको छ ।

मंगलबार दिउँसो ३ बजेसम्म सूचना दिँदै आएको चितवन देवघाटको वर्षा मापन केन्द्रमा बाढीमा आएको छालले सूचना दिने प्रविधिमा असर गरेको केन्द्रले जनाएको छ । मर्मत गरेर सिस्टम सवा ४ बजेबाट पुनः सन्चालनमा ल्याइएको छ ।

वेबसाइटमार्फत् जुनसुकै कुनाबाट पनि नारायणी नदीको सतह हेर्न सकिने उक्त प्रविधि केही समय अवरुद्ध भएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए ।

लुइँटेलका अनुसार करिब ३ बजेको समयमा नारायणीको बाढी ९.५८ मिटर पुगेपछि छालले वेबसाइटमा दिने सूचना प्रणालीमा असर पुर्‍याएको हो । त्यसपछि नारायणीको बहाव अहिलेसम्मकै सबैभन्दा बढी पुगी ९.६१ मिटर पुगेको लुइँटेलले जानकारी दिए । अहिले केही घटेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले सबै निकायलाई आवश्यक तयारीमा रहन निर्देशन दिएको जानकारी दिए । रासस