
फाइल फोटो
प्यूठान, साउन ११ । सोमबार देखिको अविरल वर्षाका कारण आएको बाढी–पहिरोमा परी प्यूठानमा १४ जनाको मृत्यु भएको छ भने अरु २४ जना बेपत्ता भएका छन् ।
उत्तरी प्यूठानको लुङ–६ बहानेमा पाँच, पुजाँमा दुई, खवाङमा दुई र झिमरुक नदीमा पाँच गरी १४ जनाको मृत्यु भएको प्रहरीले मंगलबार पुष्टि गरेको छ ।
लुङ–६ बहानेमा शिशिर रिजाल, ध्वजबहादुर पुन र वसन्ता केसीको घर पहिरोले पुर्दा स्थानीयबासी करिब ३५ वर्षीया शोभा रिजाल, २५ वर्षीया काली परियार, ११ वर्षीया प्रेम थापा, ४० वर्षीया रञ्जना केसी र १२ वर्षीया सुशीला केसीको मृत्यु भएको छ ।
त्यस्तै, झिमरुक नदीमा थप पाँचजनाको शव फेलापरेको छ । झिमरुक नदीको बागदुला पक्की पुलमुनि अन्दाजी ११ वर्षीया बालिका, प्यूठान नगरपालिकाको बिजुवारमा निर्माणाधीन भवननजिकै अन्दाजी ४५ वर्षीय पुरुष र खैरा झोलुंगेपुलनजिक पहिचान हुन नसकेको एकजनाको शव फेलापरेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण पुजाँ–१ मा घर भत्किँदा ३५ वर्षीया सुपारी मल्ल र उनका छोरा ११ वर्षीय मुकेश मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
त्यस्तै, बिजुवारमा माजकोट गाविसकी जाली पुनको शव फेलापरेको छ । त्यस्तै, खवाङ–३ मा घर भत्किँदा ८० वर्षीय दविरे सुनार र ८० वर्षीया कुटली सुनारको मृत्यु भएको छ ।
त्यस्तै, उत्तरी प्यूठानको अर्खा–६ गाविसमा गोठ बस्न गएका देवबहादुर बुढासहित उनका छोरा र छोरी बेपत्ता भएका छन् ।
अविरल वर्षासँगै जिल्लाको जनजीवन अत्यन्त प्रभावित भएको र जिल्लाभरमा बाढीले क्षति गरेकाले उद्धारकार्य जारी राखिएको प्रहरी नायब उपरीक्षक रञ्जित सिंहराठोँरले बताए ।
लगातारको वर्षाका कारण जिल्लामा हालसम्ममै ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।
पहिरो र बाढीका कारण फोप्ली–३ र ४ मा १४ जना बेपत्ता भएका छन् । उत्तरी प्यूठानको अर्खामा आठ र खवाङमा एकजना बेपत्ता भएका छन ।
त्यस्तै, फोप्लीमा भएको घटनामा तीनजना विद्यार्थी र ११ जना स्थानीय बेपत्ता भएका छन् । स्थानीय झन्डै २०० परिवार फोप्लीमा विस्थापित भएका छन् ।
अहिले उद्धारका लागि जिल्ला प्रशासन कार्यालयबाट उद्धार टोली घटनास्थल जानेक्रममा रहेको प्रहरीले जनाएको छ ।
जिल्लाभरमा बाढीका कारण धेरै मानवीय क्षति भएको हुनसक्ने प्रजिअ जनकराज पन्थले बताए ।
बाढीका कारण फोप्ली, लुङ, उदयपुरकोट, रजवारा, स्याउलिवाङ र अर्खाका ३५० भन्दा धेरै घर–परिवार विस्थापित भएका छन् । उनीहरुलाई नजिकैको विद्यालयमा सारिएको छ ।
उद्धारका लागि जिल्लाभरमा नेपाली सेवा, नेपाल प्रहरीलगायतलाई परिचालन गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रजिअ पन्थले बताए । रासस
प्रतिक्रिया दिनुहोस्