
रत्नप्रसाद आचार्य (इमेज)
सुनसरी, साउन १२ । सप्तकोसी नदीमा पानीको बहाव केही कम भएको छ ।
बुधबार बिहान १० बजे गरिएको मापनअनुसार नदीमा पानीको बहाव घटेर २ लाख ६४ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।
मंगलबार सप्तकोसीमा नदीको बहाव यो वर्षकै उच्च २ लाख ८० हजार ३ सय ६५ क्युसेक पुगेको थियो । अहिले कोसी ब्यारेजका ५६ मध्ये ३२ ढोका खोलिएका छन् ।
सप्तकोसीमा पानीको बहाव १ लाख ५० हजार क्यूसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजको दुबैतर्फ खतराको संकेतस्वरुप रातोबत्ती बालिएको छ ।
यसैबीच, कोसीपीडित संघर्ष समितिले सप्तकोसीमा बाढी आउँदासमेत भारतले कोसी ब्यारेजका सबै ढोका नखोल्दा वर्षाद्को तीन महिना त्रासमा बस्नुपरेको भन्दै सबै ढोका खोल्न भारत सरकारसँग आग्रह गरेका छन् ।
कोसीमा पानीको बहाव घटेपनि सुनसरीका बाढी प्रभावित क्षेत्र महेन्द्रनगर, प्रकाशपुर, मधुवन, श्रीपुर, हरिपुरलगायतका क्षेत्रमा स्थनीय प्रशासनले उद्धार टोलीलाई ‘अर्लट’ अवस्थामा राखेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्