१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


१४ वर्षको उमेरमा ‘हेडमास्टर’ भएँ : मदनकृष्ण (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज)

काठमाडौं, वैशाख ११ । सार्वजनिक विद्यालयको स्तर सुधारका लागि छलफल गर्ने उद्देश्यले सार्वजनिक विद्यालय रुपान्तरण अभियान राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ ।

भक्तपुरको बोडेमा आयोजित दुईदिने सम्मेलनमा देशभरका सार्वजनिक विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रमा सक्रिय व्यक्तित्वलगायतको सहभागिता रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको सम्मेलनमा सार्वजनिक विद्यालयको स्तर सुधार गर्न देशभरका ३७ ओटा विद्यालयले आफ्नो कार्यसम्पादनबारे जानकारी गराएका छन् ।

राम्रो नतिजा ल्याउन सफल विद्यालयहरुबाट छानिएका ती विद्यालय कसरी सन्चालन भइरहेका छन् भन्ने सम्मेलनमा जानकारी गराइएको छ ।

सम्मेलनमा सहभागीहरुले कक्षामा शिक्षकको उपस्थिति, शिक्षक व्यवस्थापन, अनिवार्य शिक्षा तथा प्रारम्भिक बालशिक्षा, अभिभावकको संलग्नतालगायतका विषयमा जानकारी गराएका छन् ।

दुईदिने सम्मेलनमा राम्रो नतिजा ल्याउन सफल सार्वजनिक विद्यालयबाट अरु विद्यालयलाई मिल्नसक्ने प्रेरणा र उत्साह र अबको सार्वजनिक विद्यालयले अपनाउनुपर्ने मार्गचित्रजस्ता विषयमा छलफल हुनेछ  ।

सम्मेलनको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘हामी सुधार गर्छौं हाम्रो विद्यालय’ भन्ने नारासहित सबैलाई अभियानले जिम्मेवार बनाउने बताए ।

यस वर्ष साक्षर नेपाल बनाउने अभियानमा लागेको भन्दै उनले शिक्षक सिकाइ प्रणालीलाई रुपान्तरण गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले शिक्षालाई जीवनोपयोगी बनाउनु चुनौती रहेको बताइन् ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले शैक्षिक क्षेत्रमा राजनीति हावी भएको भन्दै १४ वर्षको उमेरमा आफू विद्यालयको प्रधानाध्यापक भएको अनुभव सुनाए ।

कार्यक्रममा हास्यकलाकार दीपकराज गिरी, गायिका आनीछोइङ डोल्मालगायतले औपचारिक शिक्षालाईमात्र महत्व नदिन आग्रह गरे ।

सम्मेलनमा सहभागी प्रधानाध्यापकहरुले सार्वजनिक विद्यालय रुपान्तरणका सम्बन्धमा सुझाव पेस गरेका छन् ।

भिडियो हेर्नुहोस्