
-विवेक भण्डारी/ईमेज
नवलपरासी । नवलपरासीमा जलासय र सीमसार क्षेत्र अतिक्रमणको चपेटामा पर्दै गएपछि संरक्षणकर्मीले चासो देखाउन थालेका छन् ।
जैविक विविधता र प्राकृतिक सन्तुलनका लागि संरक्षणको अपरिहार्य भएका यी सम्पदामा संरक्षणकर्मीको चासो बढ्दै जाँदा केही आशाका किरणहरु देखिन थालेका हुन् ।
पश्चिम नवलपरासी र पुर्वी नवलपुरमा भएका प्राकृतिक जलाशय संरक्षण र सम्बद्र्धनको अभावमा दिनप्रतिदिन मासिँदै गएकोस्थितिलाई आत्मसात गरी संरक्षणका पहलहरु हुन थालेका छन् ।
५ वटा जलासय र सिमसार क्षेत्र तथा विभिन्न जलाशयहरु रहेको नवलपरासीमा अतिक्रमणको प्रयास पनि उत्तिकै जारी छ ।
प्राकृतिक रुपमा रहेका सिमसार क्षेत्रसँगै कृत्रिम सिमसार क्षेत्र निर्माणमा समेत संरक्षणकर्मीको पहल देखिएको छ ।
त्यसैको परिणास्वरुप पश्चिम नवलपरासीको सुनवलमा कृतिम सिमसार निर्माण गरिएको छ ।
राष्ट्रपति चुरे संरक्षण विकास समितिको सहयोगमा स्थानीयवासीको सक्रियताले मुलपानी सामुदायिक वनभित्र कृत्रिम सिमसार निर्माण भएको हो ।
चार बिगाह क्षेत्रफलमा फैलिएको सो सिमसार क्षेत्र निर्माणका लागि ७० लाख खर्च गरिएको छ ।
जलासयमा पार्क, वन्यजन्तुमैत्री मार्ग, तलाउ तथा मन्दिर बनाएसँगै सिमसार बस्ने जनावरहरुलाई पनि राहत मिलेको स्थानीयको भनाइ छ ।
गर्मीको मौसममा जमिन सुख्खा हुने भएकाले वन्यजन्तुको संरक्षणका लागि कृत्रिम सिमसार क्षेत्रको निर्माण गरिएको निर्माण समितिको भनाइ छ ।
वर्षायाममा आउने वर्षा र मुलको पानी संकलित गरी उक्त क्षेत्रमा तलाउन बनाइएको र सिमसार निर्माण समितिका अध्यक्ष यज्ञ प्रसाद पाण्डे बताउँछन् ।
कृतिम सिमसार निर्माणको प्रभाव सुनवलको पर्यटकीय क्षेत्रको विकासमा पनि परेको छ । जसबाट स्थानीय समेत लाभान्वित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्