२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


नेपालीमाथि सप्तरीमा भारतीयबाट भएको आक्रमणको विरोध गर्दै क्रान्तिकारी सडकमा


0
Shares

काठमाडौं, साउन १५ । नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले शनिबार माइतीघरमन्डलामा सप्तरीको तिलाठीमा नेपालीमाथि भारतीय पक्षबाट भएको आक्रमणको विरोधमा प्रदर्शन गरेको छ ।

क्रान्तिकारीका विद्यार्थीले भारतीय हस्तक्षेप बन्द गर, भारतीय दादागिरीको प्रतिवाद गरौं, तिलाठीका जनताको प्रतिरोधको सम्मान गरौं, मधेस पनि हाम्रो हो, मधेसी पनि हाम्रै हुन जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा माओवादीका सचिवालय सदस्य तथा क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले राष्ट्रवादका विषयमा हिमाल, पहाड र तराईका नेपाली भारतीय विस्तारवादविरुद्ध एकजुट भएर लड्नुपर्ने आवश्यकता भएको बताए ।

क्रान्तिकारीका संयोजक नरेन्द्र न्यौपानेले तिलाठीका जनताले भारतीय हस्तक्षेपविरुद्ध गरेको प्रदर्शनले अब मधेसी जनता पनि भारतीयविरुद्ध उभिएको बताए ।

प्रदर्शनमा क्रान्तिकारीका विद्यार्थीको सहभागिता रहेको थियो ।

बिहीबार सप्तरी तिलाठीमा भारतबाट दशगजा क्षेत्रमा बनाएको बाँधले डुबान भएको भन्दै विरोध गर्न गएका स्थानीयमाथि भारतीय पक्षबाट आक्रमण गरिएको थियो । रासस