
विनोदसिंह विष्ट (इमेज)
बैतडी, वैशाख ६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार लागिपरेको बताएका छन् ।
शुक्रबार बैतडीलाई साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
व्यावहारिक र सीपयुक्त शिक्षा आजको आवश्यकता भएको उनले औंल्याए ।
‘शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ’–उनले भने–‘शिक्षकले राजनीतिभन्दा टाढा रहेर अध्यापन गराउनुपर्छ, शिक्षामा रुपान्तरण हुनुपर्छ ।’
शुक्रबार बैतडीलाई ४९औं जिल्लाकारुपमा साक्षर जिल्ला घोषणा गरिएको हो । शिक्षामन्त्री पोखरेलले जिल्लालाई साक्षरता जिल्ला घोषणा गरेका हुन् ।
जिल्लामा १५ देखि ६० वर्षसम्मका नागरिकमध्ये ९६.९२ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई साक्षरता जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।
अनौपचारिक शिक्षाअन्तर्गत् विभिन्न कक्षाहरु सन्चालन गरेर साक्षरता अभियान सन्चालन गरेको र सोही अभियानको फलस्वरुप बैतडी साक्षर जिल्ला घोषणा भएको उनले उल्लेख गरे ।
जिल्लालाई साक्षर घोषणा गर्नुअघि १० ओटै स्थानीय तहहरुलाई साक्षर घोषणा गरिएको थियो । जिल्लाका १० ओटै स्थानीय तह गत असारमा साक्षर घोषणा गरिएका थिए ।
प्रत्येक स्थानीय तहबाट तथ्यांक संकलन गरेर साक्षर घोषणाको मापदन्ड पूरा भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए ।
जिल्ला सदरमुकामस्थित वीरेन्द्र माविमा आयोजित साक्षर जिल्ला घोषणा कार्यक्रममा बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी, प्रदेशसभा सदस्य लीलाधर भट्टलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्