
काठमाडौं, वैशाख ६ । ‘नेपालको पानी जनताको लगानी’अन्तर्गत् रहेको रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको सेयर आवेदन खुला भएको छ ।
यी परियोजनामा सभामुख कृष्णबहादुर महरा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पनि सेयर आवेदन दिएका छन् ।
ऊर्जा मन्त्रालयमा शुक्रबार आयोजित सेयर आवेदन शुभारम्भ कार्यक्रममा सभामुख महराले पहिलोपटक सेयरबजारमा लगानी गरे ।
उनले रसुवागढी जलविद्युत् कम्पनीको एक लाख रुपैयाँ बराबरको एक हजार कित्ता र सान्जेन जलविद्युत् कम्पनीको ५० हजार बराबरको ५०० कित्ता साधारण सेयर खरिद गरी सेयरबजारमा प्रवेश गरेका हुन् ।
सभामुख महराकी पत्नी सीता महराले पनि रसुवागढीमा एक लाख बराबरको एक हजार कित्ता र सान्जेनमा ५० हजार बराबरको ५०० कित्ता साधारण सेयरमा आवेदन दिइन् ।
यस्तै, ऊर्जामन्त्री पुनले पनि रसुवागढीमा एक लाख बराबरको एक हजार कित्ता र सान्जेनमा ५० हजार बराबरको ५०० कित्ता साधारण सेयरमा आवेदन दिए ।
पूर्वसभामुख एवं मन्त्री पुनकी पत्नी ओनसरी घर्तीमगरले पनि रसुवागढीमा एक लाख बराबरको एक हजार कित्ता र सान्जेनमा ५० हजारको ५०० कित्ता साधारण सेयरमा आवेदन दिइन् ।
पहिलोपटक साधारण सेयर खरिदमा सहभागी महराले सरकारले नयाँ कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गर्दै दूरदराजका नागरिकलाईसमेत यस्ता योजनामा सहभागी बनाउन सकिने उपाय खोज्न आग्रह गरे ।
यी दुई आयोजनामा यही वैशाख १० गतेसम्म सेयर आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्