
फाइल फोटो
काठमाडौं, साउन १७ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटले नै निरन्तरता पाउने बताउँदै नयाँ सरकारले पूरक बजेट नल्याउने बताएका छन् ।
अर्थमन्त्री पौडेलले व्यवस्थापिका–संसदमा पेश गरेको बजेट पास नभइकन नयाँ सरकार परिवर्तन भएको सन्दर्भमा रासससँग कुराकानी गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका डा. महतले भने–‘अहिले विनियोजन बजेट पास भइसकेको छ । तर अन्य कानुन पास हुन बाँकी रहेको छ, यो अवस्थामा पूरक बजेटको अवश्यकता मैले महसुस गरेको छैन ।’
उनले केपी ओली सरकारले ल्याएका कार्यक्रमले निरन्तरता पाउने स्पस्ट पार्दै भने–‘कुनै अनावश्यक गल्ती भएपछि परिवर्तन गर्नसक्छ तर त्यो नयाँ सरकार गठन भएपछि अध्ययन गरेर अगाडि बढाउला । तर, भएका कार्यक्रमले निरन्तरता पाउँछ ।’
डा. महतले राजनीतिक व्यवस्था जस्तो अर्थव्यवस्था द्रूतगतिमा परिवर्तन नहुने बताए । ९/९ महिनामा सरकार बदलिए पनि ९/९ महिनामा अर्थव्यवस्था नबदलिने उनले स्पस्ट पारे । हाम्रा समस्या तथा समस्यामा कुनै परिवर्तन नभएको डा. महतको भनाइ छ ।
पूर्वअर्थमन्त्री महतले भने–‘हिजो हामीले सुरु गरेका कार्यक्रमलाई वर्तमान सरकारले महत्व दियो, यो सरकारले सुरु गरेका कार्यक्रमलाई पनि नयाँ सरकारले महत्व दिनुपर्छ । आर्थिक विकासका योजना निरन्तरका योजना हुन् । नयाँ सरकार आएपछि नयाँ योजना ल्याउलान् तरपनि तिनीहरुका अवधि हुन्छन् ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरेका कार्यक्रम पनि विगतकै निरन्तरता भएको बताउँदै उनले भने–‘बाँडफाँड पनि विगतकै कार्यक्रम हुन् । नयाँ कार्यक्रम काल्पनिक मात्र छन् । त्यसलाई पूरा गर्न समय लाग्छ । कल्पना गरिएका योजनाहरुको कार्यान्वयनका लागि योजना बनाउनुपर्यो । तयारी गर्नुपर्यो, साधन–स्रोत जुटाउनुपर्यो अनिमात्र लागू हुन्छन्, ती कार्यक्रम ।’
विगत केही वर्षयता सुरु भएका योजनाहरु ‘फास्ट ट्र्याक’ का विषयमा उनले भने–‘नेपाली सेनाले ट्र्याक खोलेर सुरु भएको द्रूतमार्गलाई कसैले मेरो भन्दैमा मेरो हुँदैन । यो हामीले सुरु गरेको योजना हो ।’
डा. महतले मध्यपहाडी सडक योजना पनि आफूले बजेट विनियोजन गरेर ल्याएको कार्यक्रम भएको बताए ।
उनले भने–‘विगतका राष्ट्रिय गौरवका योजनालाई तीव्र कार्यान्वयन नयाँ सरकारले गर्नुपर्छ, गर्नेछ ।’
मधेसका मुद्दालाई नयाँ सरकारले सम्बोधन गर्छ
पूर्वअर्थमन्त्री डा. महतले मधेसका मुद्दालाई प्राथमिकता नदिएकाले नयाँ सरकार गठन गर्नुपरेको उल्लेख गर्दै मधेसका मुद्दालाई नयाँ सरकारले प्राथमिकताकासाथ कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।
उनले भने–‘मधेसमा अहिले पनि आन्दोलन जारी छ, संविधानका असन्तुष्ट पक्ष छन्, त्यसकारण वर्तमान संविधानका केही बुँदालाई सुधार गरेर भएपनि मधेसका मुद्दालाई सुल्ट्याउनुपर्छ, यसलाई बाँकी राख्नु हुँदैन । अन्य गम्भीर मुद्दा होलान्जस्तो लाग्दैन ।’
त्रिपक्षीय सम्झौता गरेर अगाडि बढेपनि संविधान संशोधनका विषयमा अन्य पार्टीलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने डा. महतको जोड थियो ।
नयाँ सरकारमा आफूले चाख नदिएको बताउँदै उनले भने–‘मलाई मन्त्री बनिरहने कुनै शौख छैन ।’
मुलुक राजनीतिक खिचातानी र सरकार बनाउने र बिगार्ने कुरामा हाम्रो सारा ध्यान गएको उल्लेख गर्दै उनले आर्थिक मुद्दालाई केन्द्रमा राखेर विकासका मुद्दामा अगाडि बढ्नुपर्ने बताए
नयाँ सरकार पनि त्यही मुद्दामा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै पूर्वअर्थमन्त्री महतले भने–‘निस्कँदै गरेको सरकारले कामभन्दा बढी कुरा गर्यो, हल्लाखल्ला गरेर मुलुक बन्दैन, त्यसका लागि कडा मेहनत र निर्णय लिन सक्नुपर्छ ।’
अब राष्ट्रलाई विकासको मुद्दामा एकताबद्ध गराएर अगाडि बढ्न सक्नुपर्नेमा जोड दिँदै उनले ‘त्यसतर्फ राजनीतिक शक्तिहरु जानुपर्ने जाउन्, राजनीतिक खेल अति भइसक्यो, अब राष्ट्र निर्माणको खेलमा लाग्नुपर्छ’–भने । रासस
प्रतिक्रिया दिनुहोस्