
-युवराज गौतम, ईमेज
काठमाडौं, साउन १७ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन अन्तिम संघारमा छ । करिब १० बर्षदेखि हुन नसकेको महाधिवेशन यही साउन २२ देखि २५ सम्म काठमाडौंमा हुने निश्चित भएपछि उम्मेद्वारहरुले आफ्नो सक्रियता बढाएका छन् ।
केन्द्रीय समिति १ सय ६१ जनाको बनाउने प्रस्ताव गरेपछि उम्मेद्वारहरुको ओहिरो लागेको छ । प्रतिनिधी छनोटमै लफडा भएपछि पटक–पटक स्थगित भएको महाधिवेशन यसपटक हुने अपेक्षा लिएका उम्मेद्वारहरु जिल्ला दौडाहा, गोप्य भेटबार्ता, प्रचार–प्रसार देखि फेसबुकमार्फत आफ्नो उम्मेद्वारी घोषणा गर्ने सम्मका कामहरुमा सक्रिय छन् ।
अध्यक्षमा मात्र करिब १२ जनाले सार्वजनिक रुपमै आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् । उपाध्यक्षमा दर्जन बढी नेताले तयारी गरिरहेका छन् । यता अध्यक्ष पछि संगठनको कार्यकारी भूमिका निर्वाह गर्न पाउने तथा वरियता क्रमले तेस्रो स्थानको महामन्त्री पदमा पनि उम्मेद्वारी घोषणा गर्नेहरुको सूची लामो बन्दै गएको छ ।
नयाँ विधानमा प्रस्ताव गरिए अनुसार दुईजना निर्वाचित तथा दुईजना मनोनित गरी चारजना महामन्त्री पद रहने व्यवस्था गरिएको छ । तर विधान पारित हँदा दुईजना निर्वाचित र एकजना मनोनित हुने सम्भावना पनि उत्तिकै छ ।
महामन्त्रीका लागि यतिबेला सातजना भन्दा बढी उम्मेद्वारले तयारी गरिरहेका छन् । वहालवाला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले उम्मेद्वारी दिन पाउने की नपाउने निश्चित भइनसकेकाले नयाँ अनुहारहरु चुनावी दौडाहामा छन् । बैचारिक क्षमता भएका र राजनीतिमा लामो समय व्यथित गरिसकेका केही सम्भावित महामन्त्रीहरुको चर्चा यहाँ गरिएको छ ।
युवराज पाण्डे
स्याङजामा जन्मिएका युवराज पाण्डे विद्यार्थीहरुमाझ लोकप्रिय नाम हो । शालीन स्वाभाव र कुशल बैचारिक क्षमता भएका पाण्डे यसपटक महामन्त्रीका लागि बलिया उम्मेद्वार मानिन्छन् । वि.स. २०४८ सालबाटै विद्यार्थी राजनीतिमा सक्रिय भएका पाण्डे भवानी मा.वि.स्याङजाको इकाइ अध्यक्ष हुँदै २०६४ सालमा चितवनमा सम्पन्न संघको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा भारी मतले विजयी भएपछि केन्द्रीय राजनीतिमा सक्रिय भएका हुन् । केन्द्रीय क्याम्पस किर्तिपुरमा पनि विश्व विद्यालय समितिको सदस्य हुँदै सह–सचिब समेत भएका उनी विद्यार्थीहरु अब पार्टीको सिपाहीका रुपमा मात्र रहिरहनु नहुने पक्षमा छन् ।
राजनीतिमा देखिएको बिकृतीको अन्त्य गर्दै विधी, अहिसांत्मक र प्रतिकात्मक आन्दोलनबाट नेपाली राजनीतिलाई आममानिसको रुचीको विषय बनाउने पर्नेमा उनको धारणा छ । अबको नेवि संघको नेतृत्व पार्टी नेतृत्वसँग बफादार मात्र रहने तर विद्यार्थी हित काम गर्न नसक्ने भएमा संघको गरिमा सकिएर जानेमा उनी चिन्तित छन् । रचनात्मक र सिर्जनात्मक कामहरु गर्दै युग सुहाँउदो शैक्षिक परिपाटी बसाउन संघको नेतृत्व आउनु पर्नेमा उनको माग छ । आफू महामन्त्रीमा विजयी भए समयमै महाधिवेशन गरी संगठनमार्फत शैक्षिक र सामाजिक आन्दोलन चर्काउने अभियान सुरु गर्ने संकल्प गरेका छन् ।
उर्मिला थपलिया
सामाजिक संजालहरुमा गहकिला अभिव्यक्तिहरु व्यक्त गरी सदावहार चर्चामा आइरहेकी नेतृ उर्मिला थपलिया यतिबेला नेवि संघको महामन्त्री पदमा तयारी गरिरहेकी छिन् । कुशल वाककला र राम्रो बैचारिक क्षमता भएकी थपलिया ‘शारीरिक सुन्दरता’का कारण झनै लोकप्रिय छिन् । धादिङमा जन्मिएकी उनी जिल्ला कोषाध्यक्ष, निलकण्ठ उच्च माविको सचिब साथै विश्वभाषा क्याम्पस काठमाडौंमा स्विवियू सचिब हुँदै नेवि संघको केन्द्रीय राजनीतिमा उदाएकी हुन् ।
विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत सक्रिय उनी चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य भइसकेकी छिन् । कांग्रेसको महासमिति सदस्य भइसकेकी उनले संगठनमा ‘एक पद, एक कार्यकाल’ प्रमुख एजेन्डा बनाएकी छिन् । व्यवसायीक र व्यवहारिक शिक्षा स्थापित गराउन, निजी र सरकारी शैक्षिक संस्थाहरु बीचको खाडल पुर्न संगठनलाई पुलको रुपमा काम गर्न सक्ने बनाउने उनको अठोट छ । संगठन भित्र ३३ प्रतिशत महिलाहरुको सहभागिता र समयमै महाधिवेशन गराउन उनले संकल्प लिएकी छिन् ।
डिल्लीराम सुवेदी
दोस्रो जनआन्दोलनताका गगन थापा, प्रदिप गिरीलगायतको गणतन्त्रको नारा घन्काउने मोर्चामा आबद्ध भएर चर्चा बटुलेका डिल्लीराम सुवेदी यतिबेला नेवि संघको महामन्त्री बन्ने दौडमा छन् । वि.स. २०५३ सालमा जनता मावि, बाग्लुङको इकाइ अध्यक्ष हुँदै काठमाडौं शिक्षा क्याम्पसको स्ववियू सभापति समेत भइसकेका उनी बैचारिक लेखन तथा चर्को भाषणकलामार्फत विद्यार्थीहरुमाझ चर्चित छन् । कोरा राजनीतिक ऐजेन्डाका कारण शैक्षिक तथा सामाजिक आन्दोलन ओझेलमा परेकाले शैक्षिक र सिर्जनशील आन्दोलन मार्फत उनी नेवि संघमा नयाँ सुगन्ध छर्ने दौडमा छन् ।
विभिन्न प्राज्ञिक कार्यमा समेत सामेल भएर बैचारिक क्षमता अभिबृद्धीमा लागेका सुवेदी शिक्षण संस्थाहरुमा संगठनको उपस्थितिले फोहोरी होइन की गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्छ भन्ने चेतना विस्तार गर्न चाहन्छन् । परम्परागत शैलीका आन्दोलन भन्दा पनि युग सुहाउँदो शैक्षिक तथा सामाजिक आन्दोलनमार्फत नेवि संघको भावी रणनीति कोर्न आफू उम्मद्वारका रुपमा उभिएको सुवेदीको दावी छ ।
पुष्प कुमार शाही
सुदुपश्चिमको विद्यार्थी आन्दोलनबाट उदाएका पुष्पकुमार शाही यतिबेला नेवि संघको महामन्त्री बन्न जिल्ला दौडाहामा छन् । डोटी जिल्लामा जन्मिएर धनगढीमा स्थायी बसोबास गर्दै आएका शाही सोझो र इमान्दारिपनका कारण विद्यार्थीमाझ लोकप्रिय छन् । कैलालीको विन्ध्यावासिनी माविमा २०५१ सालमा इकाइ अध्यक्ष हुँदै कैलाली बहुमुखी क्याम्पसबाट सक्रिय राजनीतिमा लागेका उनी नेपालगन्ज महाधिवेशनमार्फत केन्द्रीय सदस्यमा निर्बाचित भएपछि केन्द्रीय राजनीतिमा छन् ।
नेवि संघको कैलाली अध्यक्ष समेत भइसकेको शाही संगठनलाई गतिशिल बनाउन र चुस्त र दुरुस्त राख्न आफ्नो उम्मेद्वारी रहेको दावी गर्छन् । शिक्षालाई व्यवहारिक, सर्वशुलभ र बैज्ञानिक बनाउनका लागि उनले अभियान चलाउने सोच बनाएका छन् । शैक्षिक पाठ्यक्रमलाई परिवर्तन गरी युग सुहाउँदो शिक्षा प्रदान गर्न राज्यलाई दबाब दिदैं समान शिक्षाको अवसर हरेक नागरिकसम्म पुर्याउने संकल्प उनले लिएका छन् ।
अरु को–को ?
महामन्त्री पदमा दावी गरेकाहरुको सूची लामो त छैन् तर हाल अध्यक्षमा दावी गरिरहेकाहरु अन्ततः महामन्त्रीमै चित्त बुझाउनुपर्ने अवस्था आउनसक्ने विद्यार्थी नेताहरु बताइरहेका छन् । महामन्त्री नै बन्ने सोच बनाएकाहरुमा महेश्वरी कुँवर, हिमालदत्त श्रेष्ठ, कमला न्यौपानेको पनि नाम चर्चामा छ । यदि संघको महाधिवेशन निर्वाचन पद्धतीमै गएर चुनावी प्रक्रिया अघि बढ्यो भने युवराज, उर्मिला, डिल्लीराम, पुष्पकुमारमध्ये दुईजना निर्वाचित महामन्त्री बन्ने सम्भावना छ ।
हाल अध्यक्षमा दावी गरिरहेकाहरुले अन्तिम अवस्थामा उम्मेद्वारी फिर्ता लिएर महामन्त्रीमै प्रतिस्पर्धा गरे भने कडा टक्कर पर्ने निश्चित छ । पार्टीको रणनीतिमा परिवर्तन र संगठनभित्र रातारात केही कायापलट नै भयो भने हाल चर्चामा रहेका उम्मेद्वारहरु भन्दा नयाँ अनुहार स्थापित हुने सम्भावना पनि जिवीत नै छ ।
प्रतिक्रिया दिनुहोस्