१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


प्रधानमन्त्री चयनका लागि आज मतदान हुँदै, दाहाल प्रधानमन्त्री बन्ने निश्चित


0
Shares

काठमाडौं, साउन १९ । प्रधानमन्त्री चयनका लागि आज मतदान हुँदै छ । बिहान ११ बजे बस्ने व्यवस्थापिका संसद्मा मतदान हुन लागेको छ ।

संसद्ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गर्ने छ । मतदानका लागि दाहालको मात्र उम्मेदवारी परेकाले उनी निर्वाचित हुने लगभग निश्चित जस्तै भएको हो ।

मंगलबार तोकिएको समयसीमाभित्र दाहालको मात्र उम्मेदवारी गरेको हो । दाहालको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छन् ।

संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदका लागि एक मात्रै उम्मेदवारी परे पनि अन्य पदमा जस्तो निर्विरोध घोषणा हुँदैन । एक मात्रै उम्मेदवारीको अवस्थामा प्रस्तावको पक्ष÷विपक्षमा मत विभाजन प्रक्रिया अपनाइन्छ ।

यस्तो प्रक्रियामा संसद्मा तत्काल बहाल रहेको कुल सदस्य संख्याको बहुमतको समर्थन प्राप्त भएपछि मात्रै प्रधानमन्त्री निर्वाचित भएको घोषणा गरिने छ । संसद्मा अहिले ५९५ सदस्य छन् ।

दाहालले प्रधानमन्त्री निर्वाचित हुन २ सय ९८ सदस्यको समर्थन प्राप्त गर्नुपर्छ । दाहालको पक्षमा नेपाली कांग्रेसका २०७, नेकपा माओवादी केन्द्रका ८०, फोरम लोकतान्त्रिकका १४, राप्रपाका १२, नेकपा संयुक्तका ५ र केही साना दलहरुले समर्थन गरेका छन् ।

उनको समर्थकमा आन्दोलनरत मधेसी नेताहरुमध्ये संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका सर्वेन्द्रनाथ शुक्ल, सद्भावनाका लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेको भए पनि कांग्रेस–माओवादीसँग अझै सहमति नभइसकेकाले मोर्चाले पक्ष वा विपक्षमा मतदान गर्छ भन्ने स्पष्ट भएको छैन ।

दाहालको विपक्षमा एमाले, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, परिवार दल र बहुजन समाजवादी पार्टी देखिएका छन् । दाहाललाई समर्थन गर्ने÷नगर्नेमा राप्रपा नेपालमा विवाद देखिएको छ ।

आज बस्ने राप्रपा नेपालको बैठकले यसबारे निर्णय गर्न सक्ने बताइएको छ । प्रधानमन्त्री निर्वाचनमा तटस्थ बस्न नपाइने प्रावधान छ ।