
जनकपुर, वैशाख ६ । जिल्ला प्रशासन कार्यालय धनुषाले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने गृह मन्त्रालयको निर्णय कार्यान्वयनमा ढिलाइ गरेको छ ।
गृह मन्त्रालय र सर्वोच्च अदालतको आदेशपछि पनि प्रशासन कार्यालयले नागरिकता वितरणमा ढिलाइ गरेको हो । गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन ७७ वटै जिल्लामा निर्देशन दिएपछि परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय गरेपछि अन्य जिल्लामा नागरिकता वितरण सुरु भएको छ । तर, धनुषामा नागरिकता वितरण सुरु नगरिँदा कतिपयले समस्या भएको गुनासो गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जन्मसिद्ध नागरिकको सन्ततिलाई नागरिकता दिने भनी सर्वोच्चले गरेको निर्णय सञ्चारमाध्यमबाट जानकारी पाए पनि आफूलाई आधिकारिक कुनै जानकारी नआएकाले वितरण नगरिएको बताए ।
यसअघि धनुषाबाट केहीले नक्कली नागरिकता बनाएको उजुरी परेपछि त्यहाँका फाइल छानबिनका लागि भन्दै माथिल्लो निकायले लगेको थियो । सोही कारण पनि नागरिकता वितरणमा ढिलाइ भएको हुनसक्ने बताइएको छ ।
सेवाग्राहीले भने गृह मन्त्रालयको निर्देशनपछि पनि नागरिकता पाउनबाट आफूहरु बञ्चित भएको गुनासो गरेका छन् । धनुषामा यसअघि जन्मका आधारमा कतिले नागरिकता लिए भन्ने कुनै तथ्यांक छैन ।
प्रतिक्रिया दिनुहोस्