
विवेक भण्डारी
नवलपुर, वैशाख ६ । विगतका वर्षमा पढाई सुरु भइसक्दा समेत पाठ्यपुस्तक नपाएर समस्यामा पर्ने गरेका नवलपुरका विद्यार्थीले यो वर्ष भने समयमै पाठ्यपुस्तक पाउने भएका छन् ।
जनक शिक्षा सामग्री केन्द्रले समयमै पुस्तक उपलब्ध गराएसँगै नवलपुरका पुस्तक व्यवसायीले पनि समयमै पुस्तक उपलब्ध गराउने तयारी गरेका छन् । विगतका वर्षहरुमा समयमा पुस्तक नपाएर समस्यामा परेका विद्यार्थीलाई मध्यनजर गरी यस वर्ष पुस्तकको अभाव नहुने गरी वितरण गरिने व्यवसायीले जनाएका छन् ।
जिल्लामा आवश्यक पाठ्यपुस्तकमध्ये ९० प्रतिशत पुस्तक पसलमा आइसकेकाले समस्या नहुने व्यवसायी विनोद पौडेल बताउँछन् ।
अर्कोतिर विद्यार्थीहरुका लागि आवश्यक पाठ्यपुस्तक व्यवस्थापनका लागि स्थानीय तहमा नै बजेट विनियोजन भइसकेकाले पनि जहाँतहीँँ पाठ्यपुस्तक सहज रुपमा उपलब्ध हुने बताइएको छ । शिव माध्यामिक विद्यालय कावासोतीका प्रधानाध्यापक लीलाधर भूसाल पढाइ सुरु हुनु अघि नै पाठ्यपुस्तक आइसकेकाले पाठ अगाडि बढाउन सहज हुने बताउँछन् ।
विद्यार्थीलाई समयमै पुस्तक उपलब्ध गराउन जनक शिक्षा सामग्री केन्द्रका शाखासँग समन्वय गरेकाले जिल्लामा पाठ्यपुस्तकको अभाव हुन नदिने शिक्षा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्णचन्द पोख्रेलको भनाइ छ ।
समयमा पुस्तक नपाउँदा पढाइ नराम्ररी प्रभावित बनेको थियो भने शिक्षक र विद्यार्थी पनि निकै समस्यामा परेका थिए । पढाइका लागि आधारभूत मानिने पाठ्यसामग्रीको सबैतिर सहज र छिटो तरिकाले पहुँच पुर्याउन सम्बन्धित पक्षले तदारुकता देखाउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्