
नवलपरासी, वैशाख ६ । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाहरुका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउने बाटो खोलिदिएपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भीड बढेको छ ।
गत चैत १९ गतेको मन्त्रिस्तरको निर्णयले २०६३ सालमा जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्ततिलाई वंशजको नागरिकता दिन देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो । सो निर्णयपछि केही जिल्लाले तत्कालै नागरिकता वितरण शुरु गरेका थिए । तर, जिल्ला प्रशासन कार्यालय नवलपरासीले भने नागरिकता प्राप्तिका लागि विभिन्न १४ वटा प्रमाण आवश्यक भएको सूची निकालेको थियो ।
लगत्तै सर्वोच्च अदालतमा नागरिकताविरुद्ध रिट परेपछि वितरण रोकिएको थियो । सर्वोच्च अदालतले पुनः नागरिकता वितरणका लागि बाटो खुला गरेपछि जिल्ला प्रशासनमा नागरिकता बनाउनेको भीड बढेको हो ।
नागरिकता लिन पुगेका अधिकांश विद्यार्थी छन् । उनीहरुले नागरिकता दिने सरकारको निर्णयले हजारौं विद्यार्थी र युवालाई न्याय मिलेको बताए ।
नागरिकता वितरण सुरु गरेपछि एकै दिन ६० भन्दा बढी निवेदन परेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले बताए । नवलपरासीमा मात्र १० हजार बढीले जन्मका आधारमा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । त्यसका आधारमा नवलपरासीबाट मात्र करिब २५ हजार बढीले नयाँ व्यवस्था अनुसार नागरिकता पाउने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्