Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


लगानी सम्मेलनको समीक्षा, ६ महिनाभित्र हल बनाइने


0
Shares

काठमाडौं, वैशाख ५ । लगानी बोर्डले हालै सम्पन्न लगानी सम्मेलनको अवसरमा प्रस्तुत् गरिएका परियोजनाहरुमा प्राप्त प्रस्तावहरुको मूल्यांकनलगायतका कार्यको अनुगमन गर्न संयन्त्रण गठन गरेको छ ।

बिहीबार बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले लगानी सम्मेलनमा भएका समझदारी तथा संयुक्त लगानी सम्झौताको कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आर्थिक तथा पूर्वाधार विकास गर्ने सचिवको अध्यक्षतामा पाँच सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको हो ।

उक्त संयन्त्रमा भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, उद्योग मन्त्रालय र लगानी बोर्डको कार्यालयबाट एक/एकजना सहसचिवहरु सदस्य रहने निर्णय गरिएको छ ।

यस्तै, बैठकले ती परियोजना अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्नुका साथै प्रस्तुत् गरिएका परियोजनामा इच्छुक विकासकर्ताहरुले प्रस्तावसहितको निवेदन पेस गर्ने म्याद २० अप्रिल २०१९ बाट एक महिना बढाउने निर्णय पनि गरेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले लगानी सम्मेलन उत्साह जगाउने गरी सफलतापूर्वक सम्पन्न भएको बताएका थिए ।

उनले सम्मेलन देशको आर्थिक विकासका लागि एक महत्वपूर्ण आधार तथा अवसर भएको बताएको लगानी बोर्डले जनाएको छ ।

बैठकमा सम्मेलनको समीक्षा गरिएको र सम्मेलन हलको अभाव देखिएकाले ६ महिनाभित्र सम्मेलन हल बनाउने विषयमा कुरा भएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

यस्तै, लगानी बोर्डमा एकद्वार नीति डेस्क राख्ने विषयमा पनि छलफल भएको थियो ।

Skip This