
काठमाडौं, वैशाख ५ । नेपाल प्रेस युनियन युरोप तदर्थ समितिको संयोजकको जिम्मेवारी सञ्जयभक्त कँडेललाई दिइएको छ ।
बेलायत र युरोपलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील कँडेललाई प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको प्रस्तावमा महासचिव अजयबाबु शिवाकोटीले युरोप संयोजकको जिम्मेवारीको पत्र दिएका हुन् ।
केही साताअघि सम्पन्न बेलायत शाखाको प्रथम अधिवेशन सफल गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई युरोपका सबै देशहरुमा संगठन विस्तार गरी यथाशक्य अधिवेशन गर्न भनिएको छ ।
कँडेल प्रेस युनियन बेलायतको संस्थापक सहसंयोजक रहिसकेका छन् ।
दर्पणसंसार डटकमका प्रधानसम्पादक तथा पत्रकार महासंघ बेलायतको महासचिव रहेका कँडेल विगत लामो समयदेखि प्रवासमा रहेर पत्रकारिता गर्दै आइरहेका छन् ।
नेपाल समाचारपत्रको बेलायत प्रतिनिधिसमेत रहेका उनी बेलायतस्थित नेपाली दूतावासले मनाउन गइरहेको ‘भिजिट नेपाल–२०२०’ समारोहको प्रचार–प्रसार विभागका सहसंयोजकसमेत हुन् ।
कँडेलले युरोपका अन्य देशका पत्रकारहरूलाईसमेत समेटेर तत्काल तदर्थ समितिको घोषणा गर्ने बताए ।
प्रेस युनियन नेपालमा अन्तर्राष्ट्रिय पत्रकार महासंघको पहिलो सदस्य संस्था हो ।
देश तथा विदेशमा गरी नेपाल कांग्रेसनिकट प्रेस युनियनमा १० हजार बढी पत्रकारहरु आवद्ध छन् ।
केन्द्रीय महाधिवेशनको तयारीमा रहेको युनियनको २८ वर्षे इतिहासमा आफूहरु पहिलोपटक विदेश शाखाहरु विस्तारकाक्रममा रहेको महासचिव शिवाकोटीले जानकारी दिए ।
युनियनको युएई र बेलायतमा अधिवेशन सम्पन्न भइसकेको र क्रमशः अन्य देशमा संगठनको विस्तारकाक्रममा रहेकोसमेत उनले बताए ।
‘युनियनले उठाएका मुद्दालाई विश्वभरबाट समर्थन र ऐक्यबद्धता जुटाउन प्रवासमा शाखा विस्तारमा जुटेका छौं’–उनले भने ।
प्रतिक्रिया दिनुहोस्