प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज)
काठमाडौं, वैशाख ५ । चार महिनादेखि तलब नपाएको भन्दै राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कर्मचारीहरु अहिले आन्दोलित छन् ।
वर्षौंदेखि करारमा राखेको र आफूहरुको वृद्धि विकाससमेत रोकेको भन्दै उनीहरु चैत २९ गतेदेखि केन्द्रमा तालाबन्दी गरेर विरोधमा उत्रिएका हुन् ।
यसको असर भने मुलुकको एकमात्र आयुर्वेद अनुसन्धान केन्द्रको काम–कारबाहीमा परेको छ ।
आयुर्वेद क्षेत्रको विकासमा सहयोग पुर्याउन चीन सरकारको सहयोगमा ८ वर्षअघि राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र निर्माण भएको थियो ।
त्रिभुवन विश्वविद्यालयको ३० रोपनी जग्गामा ५४ करोड रुपैयाँ लागतमा निर्माण भएको केन्द्रमा अनुसन्धान गर्ने भवन, अस्पताल र तालिम केन्द्र रहेका छन् ।
आयुर्वेद उपचारको क्षेत्रको विस्तार गर्न निर्माण गरिएको केन्द्रलाई सरकारले खासै प्राथमिता भने दिएको देखिँदैन । जसका कारण अनुसन्धान र तालिम सन्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण भएर पनि केन्द्र राम्रोसँग सन्चालनमा आउन सकेको छैन ।
६३ जना करार कर्मचारी राखेर सन्चालन गरिएको केन्द्रमा व्यवस्थापन राम्रो नभएको कर्मचारीहरु बताउँछन् ।
केन्द्रका अनुसन्धान अधिकृत जय भण्डारीले सरकारले कुनै चासो नदिएका कारण सोचेअनुरुप काम गर्न नसकेको बताउँछन् ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत् सन्चालमा आएको केन्द्रमा कार्यकारी निर्देशकबाहेक सबै कर्मचारी करारमा छन् ।
उता, केन्द्रका कार्यकारी निर्देशक डा. सिद्धार्थ ठाकुरले तलबको कुरा मिलिसकेको भन्दै थप कुरा भने गर्न चाहेनन् ।
केन्द्रका लागि चीनले २४ करोडको थप उपकरण उपलब्ध गराएपनि त्यसको उपयोग भएको छैन ।
वार्षिक पाँचओटामात्र अनुसन्धान गर्ने व्यवस्था रहे पनि केन्द्रले त्यो पनि पूरा गर्न सकेको छैन । भएका अनुसन्धानसमेत प्रकाशमा ल्याउन सकेको छैन् ।
केन्द्रका अनुसन्धान अधिकृत अनिलसिंह बस्नेतले हालसम्म नेपालमा पाइने जडीबुटी, दाँत, क्यान्सर, छाला र गाउँघरतिर प्रयोगमा आएका जडीबुटीबारे अनुसन्धान भएको बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्