
पाल्पा, साउन २२ । तानसेन नगरपालिका–११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक रु २० लाख बराबरको फूलको बिरुवा भारतमा निर्यात् हुने गरेको छ ।
व्यवसायिक फूलको खेती गर्न उपयुक्त रहेको पाल्पाबाट भारतमा ठूलो मात्रामा निर्यात् हुने गरेको छ ।
फूलका बिरुवा भारतका अलावा नेपालका विभिन्न स्थानमासमेत निर्यात् हुँदै आएको छ । गर्मी र चिसो दुबै मौसममा पाल्पामा व्यवसायिक फूलखेती गरिन्छ ।
नेपालका घरमा अहिले सजावट र होटल तथा पाहुनाको स्वागत्का लागि पनि पाल्पामा हुर्किएको फूलको बिरुवा निर्यात् भएको गुप्ता नर्सरी पाल्पाका प्रोपराइटर राजेश गुप्ताले बताए ।
‘अहिले मानिस सजिसजाउ घर, हरियो र रंगीचंगी आँगन भएको हेर्न चाहन्छन्’–गुप्ताले भने ।
पछिल्ला पाँच/सात वर्षदेखि फूलको व्यापार फस्टाएको छ । २०/३० लाखदेखि करोडौंको घर बनाउँदा फूल आगन, ढोका, गेस्टरुममा राख्ने प्रचलन बढेको छ ।
पाल्पामा गर्मी र जाडो दुबै मौसममा फूल उत्पादन गर्न सकिने भएकाले यहाँको फूलमा उपभोक्ताको आकर्षण थपिएको गुप्ताले बताए ।
घर तथा आँगनमा फूलेको फूलले मानिसमा उत्साह थप्ने, निरासा हटाउने, स्वच्छ, सफा देखिने र मानिसलाई नै फूर्तिलो बनाउने गर्दछ ।
‘फूल नरुचाउने मानिस सायद नहोलान्’–गुप्ता भन्छन्–‘फूलको दृश्य हेर्नासाथ त्यसको आहारा, पानी, स्याहारको चिन्ता हुन्छ भने फूलले धेरै मानिसलाई हसिलो र फुर्तिलो बनाउँछ ।’
रुपन्देहीको ड्राइभरटोलमा २० वर्षदेखि फूलको व्यापार गर्दै आएको गुप्ता नर्सरी फार्मले गर्मी र अत्यधिक जाडोमा फूलको नर्सरी राम्रोसँग हुर्कने जनाएको छ ।
तानसेन प्रभासनजिकै रक्साहमा १३ रोपनी जग्गा लिजमा लिएर फूलको नर्सरी हुर्काएर बुटवल, नारायणघाट, भैरहवा, दाङ, चितवन, नौतनवा, गोरखपुरमासमेत फूलको बिरुवा निर्यात् हुने गरेको छ ।
पाल्पाबाट सयपत्री, पिटोनिया, डेन्थस, भर्विना, एन्थेनियम, पेन्जी, जेरनियम, भींका, डालिया, गोदावरीलगायत २० थरीका फूल निर्यात् हुने गरेको छ ।
प्रोपराइटर गुप्ताले एक हजार बिरुवा राखेकामा ९ सय बिरुवा पाल्पामा राम्रोसँग हुर्कने र त्यसबाट कुल आम्दानीको ४५ प्रतिशतसम्म नाफा लिन सकिने बताए ।
हाइब्रिड जातको फूलको व्यवसायिक खेतीबाट खर्च कटाएर ४५ प्रतिशत नाफा गर्न सकिने र यसको बजार सम्भावना जताततै बढ्दै गएको उनले बताए ।
हाइब्रिड जातको फूलमा धेरै फूल लाग्ने बोट सानो हुने भएकाले सजावट छरितो हुने, बोट नभाँचिने र फूलले घरलाई उज्यालो बनाउने फूल व्यवसायी बताउँछन् । रासस
प्रतिक्रिया दिनुहोस्