
काठमाडौं, साउन २२ । यो साता पुँजीबजारमा उच्च गिरावट आयो । एकै सातामा शेयरबजार परिसूचक नेप्से करिब सय अंकले घट्यो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९४ अंकले घटेर अन्तिम दिन १७ सय ६८ बिन्दूमा आइपुग्यो । कारोबार भएका सबै समूहमा गिरावट आएसँगै साताको नेप्से उच्च अंकले घटेको हो ।
बीमा समूह सबैभन्दा उच्च ५ सय ४३ अंकले झर्यो । यस्तै, जलविद्युत् समूहमा १ सय ३० अंकको, विकास बैंक समूहमा १ सय १९ अंकको र होटल समूहमा पनि १ सय १० अंकको गिरावट आयो ।
यसैगरी, उत्पादनमूलक समूह १ सय १ अंकले घट्यो भने वाणिज्य बैंक समूह ८८ अंकले ओरालो लाग्यो । अन्य समूह पनि २३ अंकले घट्यो भने व्यापार समूह भने स्थिर रह्यो ।
यो साता कारोबार परिमाणमा पनि गिरावट आयो । १ सय ५२ कम्पनीहरुको सात अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरका एक करोड ७२ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
गत साता १ सय ५६ कम्पनीहरुको ९ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ बराबरका दुई करोड ५७ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा १८ प्रतिशतले कम हो ।
यो साता कारोबार रकमको आधारमा नेपाल बैंक, कारोबार भएको सेयर संख्याको आधारमा लक्ष्मी भ्याल्यु फन्ड १ र कारोबार संख्याको आधारमा प्राइम कमर्सियल बैंक अग्रस्थानमा रहे ।
कारोबार रकमकै आधारमा नेपाल बैंकलाई नेपाल बंगलादेश बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक र नबिल बैंक संस्थापकले क्रमशः पच्छ्याउन पुगे ।
प्रतिक्रिया दिनुहोस्