१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


शेयरबजारमा एकैदिन अभूतपूर्व गिरावट, लगानीकर्ताले अर्बौं रकम गुमाए


0
Shares

अपडेट
काठमाडौं, साउन २४ । शेयरबजारमा सोमबार एकैदिन अभूतपूर्व गिरावट आयो ।

शेयरबजारमा पाँच प्रतिशतको गिरावट आएपछि डेढ घन्टाअगावै बजार बन्द भयो । लामो समयपछि पाँच प्रतिशत घटेर बजार बन्द गराउनुपरेको हो ।

बिहान ११ बजे कारोबार सुरु हुँदा १७ सय ६४ अंकमा रहेको बजार दिउँसो साढे १ बज्दा–नबज्दै ८८ दशमलव ८ अंकले घटेर १६ सय ७५ मा आइपुगेपछि नेपाल स्टक एक्स्चेन्जले दिनभरका लागि नै बजार बन्द गरेको हो ।

बजार परिसूचक नेप्सेमा पाँच प्रतिशत गिरावट आए वा बढेमा त्यो दिनका लागि बजार बन्द गर्ने प्रावधान रहेको छ ।

कारोबार भएका अधिकांश कम्पनीको मूल्य ७ देखि १० प्रतिशतले घटेको छ, जसका कारण लगानीकर्ताले एकैदिन अर्बौं रुपैयाँ गुमाएका छन् ।

बीमा समूहको सूचक सबैभन्दा उच्च ५ सय ३७ अंकले झर्‍यो । जलविद्युत् समूह पनि १ सय १७ अंकले ओरालो लाग्यो । वाणिज्य बैंक समूहमा ९२ अंकको, विकास बैंक समूहमा ७० अंक अनि होटल समूहमा पनि ६२ अंकको गिरावट आयो ।

नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायको अस्थिर नीतिका कारण बजार यसरी घटेको विश्लेषण गरिएको छ ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार गठनलाई पनि बजार घटाउने बहाना बनाइएको लगानीकर्ताहरुले बताएका छन् ।

साढे दुई घन्टाको कारोबारकाक्रममा यसदिन जम्मा ८८ करोड रुपैयाँ मूल्य बराबरको शेयर किनबेच भयो ।

यता, धितोपत्र बोर्डले सोमबारै विज्ञप्ति जारी गरी लगानीकर्ताहरुलाई हतोत्साहित नहुन आग्रह गरेको छ ।

साथै, बोर्डले अर्को विज्ञप्ति जारी गरी बोर्डले हालै गठन गरेको सम्पति शुद्धीकरण अध्ययन समितिका कारण लगानीकर्तामा भ्रम सिर्जना हुन गएको भन्दै उक्त समिति खारेज गरेको पनि जनाएको छ ।

बोर्डले हालका दिनहरुमा सुचीकृत संगठित संस्थाहरुले आफ्नो पछिल्लो वित्तीय विवरण प्रकाशन गर्न सुरु गरेका र बाहिर आएका विवरणअनुसार संस्थाहरुको मुनाफ्mाको स्थिति सकारात्मक रहेको देखिएको जनाएको छ ।

यस परिप्रेक्ष्यमा संगठित संस्थाहरुको वित्तीय अवस्था तथा ती संस्थाहरुको आधारभूत तथा प्राविधिक विश्लेषण गरी हतोत्साहित नभइ तथा हल्लाको पछि नलागी सुझबुझ तवरले लगानीसम्बन्धी निर्णय लिन बोर्डले लगानीकर्ताहरुलाई अनुरोध गरेको छ ।