
फाइल फोटो
काठमाडौं, साउन २७ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी भारत भ्रमण र भारतका राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणको वातावरण बनाउन केन्द्रित हुने बताएका छन् ।
मन्त्रालयमा रिपोर्टर्स् क्लब नेपालका पदाधिकारीसँगको भेटमा उनले संविधान निर्माणपछि केही समय असहज देखिएको नेपाल–भारत सम्बन्ध सुधार गर्नसमेत आफ्नो भ्रमण केन्द्रित रहने बताए ।
विहीबार बसेको मन्त्रिपरिषदको बैठकले निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन भ्रमणमा पठाउने निर्णय गरेको थियो ।
उपप्रधानमन्त्री महराको भ्रमण चीनका राष्ट्रपति सी जिन पिङको सम्भावित नेपाल भ्रमण र दुई देशको सम्बन्ध सुदृढीकरणमा केन्द्रित हुने उपप्रधानमन्त्री निधिले बताए ।
प्रधानमन्त्री दाहालले दुबै छिमेकी मुलुकसँगको सम्बन्ध सुदृढ गर्ने र समन्वय बढाउने उद्देश्यसहित आफूहरुलाई उक्त देशमा पठाउन लागेको उनको भनाइ छ ।
एक/डेढ महिनामा संविधान संशोधनको प्रक्रिया टुंगिने
उपप्रधानमन्त्री निधिले आन्दोलनरत् मधेसी, जनजाति, थारुको माग सम्बोधन गर्ने गरी सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिए ।
उनले संविधानमा सबैको अपनत्व महसुस गराउन सरकार तयार रहेको धारणा राखे ।
उपप्रधानमन्त्री निधिले भने–‘सीमांकन, राष्ट्रियसभाको गठन र वैवाहिक नागरिकताको विषयमा मुख्य विवाद देखिएको छ, यसमा के–कति गर्न सकिन्छ, प्रयासरत् छौं ।’
उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी मोर्चासँगको थप छलफल गरेर एक/डेढ महिनामै संसदमा संविधान संशोधन प्रस्ताव दर्ता हुने जानकारी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टी सहमत हुन नसक्ने भन्ने अभिव्यक्ति दिएपनि संशोधनमा सहयोग गर्ने आफूले विश्वास लिएको उनको भनाइ छ ।
उनले भने–‘उहाँले (अध्यक्ष ओलीले) संविधान गतिशील दस्तावेज भएको र यसमा संशोधन गर्न सकिन्छ भन्नुभएको छ । त्यसैले एमालेले संविधान संशोधन प्रस्तावमा सहयोग गर्ने विश्वास लिएका छौं ।’
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सातबुँदे सहमति, मधेसी मोर्चासँग भएको तीनबुँदे सहमतिअनुरुपका काम सरकारले अगाडि बढाइसकेको उनले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्