
रविन भट्टराई
बिर्तामोड, असार २६ । झापाको बेग्लाबेग्लै स्थानमा सोमबार राति भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । झापा बाह्रदशी–६, डाँगीबारी भित्री सडकमा मे१प २९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक अन्दाजी ४० वर्षीय सेनकुवा राजवंशीको मृत्यु भएको प्रहरीले बताएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले कुकुरलाई जोगाउन खोज्दा राति ११ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा राजवंशीको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारार्थ बिएनसी अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।
यसैगरी झापा शिवसतासी–८ झिलझिलेमा मे५प ६८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भारत, वीरपुर घर भई झापा शिवसतासी–८ झिलझिले चोकस्थित समिर ग्यारेजमा मिस्त्री काम गर्ने १९ वर्षीय मोहमद सहनीको मृत्यु भएको छ ।
सहनीलाई राति ९ बजे बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका सहनीको उपचारका क्रममा बिएनसी अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेल जनाएको छ ।
ठक्कर दिने मोटरसाइकलका चालक शिवसतासी–८ बस्ने रोजल गजमेरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्