१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्छ : बामदेव


0
Shares

                                                                फाइल फोटो

काठमाडौं, साउन २८ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले मुलुकमा सरकारको स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

अखिल नेपाल किसान महासंघको प्रशिक्षण विभागले शुक्रबार राजधानीमा आयोजना गरेको राष्ट्रिय कार्यशालाको शुभारम्भ गर्दै उनले देशमा राजनीतिक स्थिरता कायम राख्नका लागि कार्यकारी प्रमुखकारुपमा राष्ट्रपतिलाई स्थापित गर्नुपर्ने बताए ।

विगतमा धेरैपटक सरकार ढलेको स्मरण गर्दै उनले सरकारले ल्याएका योजना तथा बजेटलाई कार्यान्वयन गर्न नसकिएकाले राजनीतिक अस्तव्यस्तता बढेकोमा चिन्ता व्यक्त गरे ।

अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका गौतमले विभिन्न जातजातिका नाममा देशमा विभाजन ल्याउने खतरा बढेको बताउँदै आफ्नो पार्टीले त्यस्तो षड्यन्त्रकाविरुद्ध दृढताकासाथ प्रतिवाद गर्ने प्रस्ट पारे ।

महासंघका सहअध्यक्ष केशवलाल श्रेष्ठले देश विकासका लागि जमिनको महत्व रहेको विचार राख्दै खेतीयोग्य जमिनमाथि व्यक्तिगत् स्वामित्व हटाउनुपर्ने बताए ।

शनिबारसम्म चल्ने उक्त कार्यशालामा करिब १०० जनाको सहभागिता रहेको छ । रासस