
काठमाडौं, वैशाख ४ । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै नेपाल पत्रकार महासंघले उक्त दफाको खारेजी माग गर्दै देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।
पत्रकारलाई विद्युतीय कारोबार ऐनको उक्त दफाअन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि आन्दोलन गर्न बाध्य भएको महासंघले जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टका अनुसार घोषित आन्दोलन कार्यक्रम अन्तर्गत आज विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको माग गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्ने कार्यक्रम छ ।
त्यस्तै वैशाख ५ गते विहान ९ः३० देखि १०ः३० बजेसम्म नेपाल पत्रकार महासंघका जिल्ला शाखामार्फत देशका सबै जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरिएको छ । यसपछिका थप कार्यक्रम महासंघको भोलि बस्ने उपलब्ध केन्द्रीय समिति बैठकले तय गर्ने जनाइएको छ ।
महासंघले सबै जिल्ला शाखा तथा पत्रकार एवं सञ्चारमाध्यमहरुमा घोषित कार्यक्रमलाई सफल पार्न आ≈वानसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्