Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


जातीय राज्य खोज्नेहरुका माग कहिल्यै पूरा हुँदैन : नेपाल


0
Shares

काठमाडौं, साउन २९ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा जातीय राज्य निर्माण गर्नुपर्दछ भन्नेहरुका माग कहिल्यै पूरा नहुने बताएका छन् ।

१ सय ३० भन्दा बढी जातजाति रहेको मुलुकमा जातीय राज्य निर्माण भए मुलुक सोझै विखन्डनतर्फ उन्मुख हुने भन्दै उनले यस्ता मागमा कुनै हालतमा सहमति जनाउन नसकिने बताए ।

शनिबार काठमाडौंमा नेपाल बुद्धिजीवी परिषदले गरेको कार्यक्रममा एमाले नेता नेपालले अहिलेको अवस्थामा संविधान कार्यान्वयन गर्ने प्रमुख दायित्व दलहरुको रहेको भन्दै सहमतिको सरकार निर्माण गरी नयाँ संविधान कार्यान्वयनमा अघि बढ्नुपर्ने धारणा राखे ।

नेता नेपालले विगतमा ठूलो जोखिम मोलेर संविधान जारी गरिएकाले यो संविधान कार्यान्वयन गरी मुलुकमा जारी गतिरोध अन्त्य गर्ने दिशामा सबै एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार परिवर्तन गर्ने खेलले नेपालको राजनीतिप्रति आमजनतामा वितृष्णा पैदा भएको बताए ।

कार्यक्रममा बोल्ने अरु वक्ताले राजनीतिक दलहरुले अहिलेको अवस्थामा आपसी विमति बिर्सेर नयाँ संविधान कार्यान्वयन गराउने दिशामा एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।