१० भाद्र २०८२, मंगलबार | Wed Aug 27 2025


दादुराले भयावह रुप लिँदै, विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशत वृद्धि


0
Shares

जेनेभा, वैशाख ४ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ ।

दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लुएचओको भनाई छ ।

‘विश्वभरबाट संकलित प्रारम्भिक तथ्यांक विश्लेषण गर्दा सन् २०१९ को पहिलो तीन महिनामा दादुराका बिरामी ३०० प्रतिशतले बढेको पाइयो,’ डब्लुएचओले भनेको छ, ‘विगत दुई वर्षदेखि नै दादुराका बिरामीको संख्या बढ्दै गएको पाइएको थियो, र त्यसैको निरन्तरता अहिले पनि देखिएको छ ।’

डब्लुएचओको वक्तव्यमा भनिएको छ, ‘सङ्कलित तथ्यांक प्रारम्भिक विवरण हो, तर यसले बढ्दो प्रवृत्तिलाई सङ्केत गरेको छ । धेरै देशमा दादुराका बिरामी निकै ठूलो संख्यामा देखिएका छन् । विश्वका सबैजसो क्षेत्रमा दादुराका बिरामी पाइएको छ ।’

यस वर्ष विश्वका १७० देशबाट संकलित तथ्यांकमा एक लाख १२ हजार १६३ जनामा दादुरा पाइएको छ । गत वर्ष १६३ देशको तथ्याङ्कमा २८ हजार १२४ जनामा दादुरा देखिएको थियो ।

हावाबाट संक्रमण हुने दादुराबाट मानिसमा ज्वरो आउने, खोकी लाग्ने र शरीरमा राता फोकाहरु उठ्ने गर्दछ । कतिपय अवस्थामा समयमै उपचार नभए घातक हुने गर्दछ । धेरै विकसित देशमा दादुरा रोग उन्मूलन भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार दादुरा विरुद्धको पहिलो खोप ८५ प्रतिशतले कमी भएको छ भने करिब ६७ प्रतिशतले मात्र दोस्रो खोप लिने गरेका छन् । (रासस÷एएफपी)