पदभार ग्रहण गरेलगत्तै कर्मचारीलाई ऊर्जा मन्त्रीले भने, ‘अब हिँडेरमात्र पुग्दैन, दौडिनु पर्छ’ • Image Khabar Image Khabar


पदभार ग्रहण गरेलगत्तै कर्मचारीलाई ऊर्जा मन्त्रीले भने, ‘अब हिँडेरमात्र पुग्दैन, दौडिनु पर्छ’


Imagekhabar
३१ श्रावण २०७३, सोमबार ०३:४३

पदभार ग्रहण गरेलगत्तै कर्मचारीलाई ऊर्जा मन्त्रीले भने, ‘अब हिँडेरमात्र पुग्दैन, दौडिनु पर्छ’

काठमाडौं, साउन ३० । ऊर्जा मन्त्री जनार्दन शर्माले ऊर्जा क्षेत्रको विकासमा प्रतिबद्ध भएर लाग्न मातहतका कर्मचारी तथा विभागिय प्रमुखलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा आइतबार पदभार ग्रहण गरेपछि ऊर्जा मन्त्रालय तथा जल तथा ऊर्जा आयोग सचिवालय मातहतका कर्मचारीलाई निर्देशन दिँदै उनले मुलुक ऊर्जा सङ्कटमा रहेकाले त्यसलाई समाधानको उपाय खोज्न कुनै पनि मोलाहिजा नराखी काम गर्न आग्रह गरे ।

उनले मुलुकलाई अगाडि बढाउने वा नबढाउने भन्ने प्रमुख जिम्मा स्थायी सरकारको रुपमा रहेको कर्मचारी प्रशासनकै भएकाले पूर्ण क्षमताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

काम गर्न कुनै पनि अवरोध उत्पन्न नहुने उल्लेख गर्दै ऊर्जा मन्त्री शर्माले भने, ‘ढिलासुस्तीले काम बन्दैन, तपाईँहरु दौडन तयार हुनुस् । म पनि तपाईँहरुसँगै दौडन तयार छु । मुलुक र जनताको पक्षमा पूर्ण क्षमताका साथ काम गर्नुपर्छ ।’

ऊर्जा क्षेत्रमा रहेको समस्या समाधानका लागि सबैको सकारात्मक साथ र सहयोगको आवश्यकता रहेकोमा जोड दिँदै उनले विगतका सरकारले अगाडि सारेका सकारात्मक कार्ययोजनालाई पूरा गरिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘म पनि इमान्दार भएर कर्मक्षेत्रमा लाग्छु, तपाईँहरुको पनि सकारात्मक सहयोगको अपेक्षा गर्दछु । अब हिँडेर मात्रै कहीँ पुगिँदैन, पूर्ण क्षमताका साथ दौड्नुपर्छ । त्यसका लागि तयार हुनुस् ।’

यस्तै, ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले मुलुकको समग्र क्षेत्रको विकासका लागि ऊर्जा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसमा इमान्दार प्रयत्न गर्ने विश्वास व्यक्त गरे ।

भूकम्पले क्षतिग्रस्त मुलुकको पुनःनिर्माण र नवनिर्माणका लागि ऊर्जा क्षेत्रको विकास पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै उनले कर्मचारी प्रशासनसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा ऊर्जा सचिव सुमनप्रसाद शर्माले मुलुकको ऊर्जा सङ्कट समाधानका लागि दस वर्षमा दस हजार मेगावाटको कार्ययोजना प्रस्तुत भएको सन्दर्भमा त्यसलाई अगाडि बढाउन जरुरी रहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले तीन दिनभित्र कार्ययोजना प्रस्तुत गर्न दिएको निर्देशनबमोजिम मन्त्रालयले विद्युतभार कटौतीलाई कसरी कम गर्न सकिन्छ भन्ने कार्ययोजना प्रस्तुत गरेको सचिव शर्माले जानकारी गराए ।

यस्तै, जल तथा ऊर्जा आयोगका सचिव धनबहादुर तामाङले नीति निर्माण र अध्ययनको क्षेत्रमा आयोगले काम गरिरहेको भन्दै मन्त्री शर्मा र राज्यमन्त्री भगतको कार्यकालमा मुलुकले महत्वपूर्ण प्रगति गर्ने विश्वास व्यक्त गरे । ( रासस)

प्रतिक्रिया दिनुहोस्