
काठमाडौं, वैशाख २ । पाँच लाख रुपैयाँभन्दामाथिको सेयर कारोबारमा सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान) लागू भएको छ ।
नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेन्जले सोमबारदेखि धितोपत्रको कारोबारमा प्यान लागू गरेको हो ।
पाँच लाखभन्दा कम कारोबार गर्नेलाई भने प्यान लागू हुने छैन ।
धितोपत्रको दोस्रो बजारमार्फत् कारोबार गर्नका लागि बोर्डले गत कात्तिक १२ गते आवश्यक निर्णय गरी कार्यान्वयनका लागि स्टकलाई निर्देशन दिएको थियो ।
सोही आधारमा लगानीकर्ताको सहजीकरणका लागि स्टकले स्थायी लेखा नम्बर दर्ता सहजीकरण डेस्कसमेत खडा गरेको थियो ।
पछिल्लोपटक चैत १२ गते लगानीकर्ताको माग र सरोकार भएका निकायको ध्यानाकर्षणपछि पाँच लाखभन्दा कम कारोबार गर्नेलाई भने ऐच्छिकरुपमामात्रै प्यान लागू हुने व्यवस्था गरिएको छ ।
सेयरबजारलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ प्यान लागू गरिएको स्टकले जनाएको छ ।
वर्षको पहिलो दिन सेयरबजार सकारात्मक
यता, वर्षको पहिलो दिन सेयरबजार सकारात्मक रह्यो ।
यसदिन उतार–चढावबीच बजार परिसूचक नेप्से ५ अंक बराबरले सकारात्मक रहेर ११ सय ८८ कायम भयो ।
जीवनबिमा, जलविद्युत्, अन्य र वित्त समूहबाहेक अरु समूह सकारात्मक रहे ।
यसदिन लघुवित्त समूह सबैभन्दा उच्च ४२ अंकले उकालो लाग्यो । होटल समूहमा २२ अंकको वृद्धि भयो ।
उत्पादनमूलक समूहमा पनि दोहोरो अंकको सुधार हुँदा वाणिज्य, विकास बैंक र निर्जीवन बिमा समूह सामान्य अंकले हरियो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका ९ लाख ६४ हजार कित्ता सेयर ३० करोड ४५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्