
भैरहवा, वैशाख २ । रुपन्देहीमा अत्याधुनिक प्रविधिसहितको कपी उद्योग खुलेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७, परसहवामा प्रदेश नम्बर–५ मै पहिलो अत्याधुनिक प्रविधिसहितको कपी उद्योग खुलेको हो ।
रुपन्देहीका २७ जना उद्योगी–व्यवसायीहरुको लगानीमा यो उद्योग सन्चालनमा आएको हो ।
भैरहवा कमर्सियल इन्भेस्टमेन्ट कम्पनी प्रालिद्वारा सन्चालित अन्नपूर्ण मल्टी इजी इन्डष्ट्रीजको तेस्रो प्रोडक्टकारुपमा मसलन्द तथा कपी उद्योग स्थापना भएको हो ।
इन्डष्ट्रीजले हालसम्म उद्योगमा २८ करोड रुपैयाँ लगानी गरेको जनाएको छ ।
उद्योगअन्तर्गत् हाल कार्डबोर्ड, गत्ता र कपी उत्पादन हुँदै आएको छ । यसअघि, कार्डबोर्ड र गत्ता उत्पादन हुँदै आएकोमा तेस्रो प्रोडक्टकारुपमा कपी उत्पादन गर्न थालिएको भैरहवा कमर्सियल इन्भेस्टमेन्ट कम्पनी प्रालिका अध्यक्ष नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
उद्योगमा १०० जनाले रोजगारी पाएका छन् । आगामी दिनमा उद्योगका युनिट बढ्दै जाने र लगानी पनि थपिँदै जाने भण्डारीको भनाइ छ ।
दैनिक ४ टन कागजबाट ८ घन्टामा १० हजार कपी उत्पादन क्षमता रहेको उद्योगले कपीसहित डे बुक, लेजर र रजिस्टरसमेत उत्पादन गर्ने भण्डारीले जानकारी दिए ।
बजारमा उत्पादनको माग बढे १६ घन्टामा २० हजार कपी उत्पादन गर्न सकिने उनले बताए ।
नेपालमा भएका कपी उद्योगहरुमध्ये आफ्ना उत्पादन गुणस्तरीय हुने कम्पनीको दाबी छ ।
नेपालमै उद्योग स्थापना गरे विदेशबाट आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने मसलन्द तथा कपी उद्योगका सन्चालक सुरेन्द्र बस्यालले बताए ।
साना उद्योगबाट सुरु गरेर आधुनिक तथा राम्रो प्रविधियुक्त ठूला उद्योगहरु सन्चालन गर्नुपर्नेमा प्रदेश–५ सरकारका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री लीला गिरीले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्