१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


चुम्बकीय क्षेत्र गहन हुँदा सूर्यमा दाग


0
Shares

काठमाडौं, वैशाख २ । केही दिनयता सूर्यको माथिल्लो भागमा चुम्बकीय क्षेत्र गहन हुन गइ दाग देखिएको ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ले जनाएको छ ।

सूर्यमा यस्तो हुँदा सामान्य अवस्थाभन्दा चुम्बकीय गतिविधि हजार गुणा बढी हुन गइ उक्त स्थान अरु भागभन्दा अँध्यारो हुने गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

अँध्यारोपछि सूर्यमा दाग देखिने गरेको छ । यस्तो क्षेत्रबाट एक्स–रे तथा परावैजनी तरंग अत्याधिक मात्रामा निस्कन्छ । तरंगमा हेर्दा यो क्षेत्र उज्यालो देखिन्छ ।

यस्ता क्षेत्रबाट अन्तरिक्षमा तीव्रगतिका विद्युतीय कण प्रसारण हुने गर्छन् । यसलाई ‘कोरोनल मास इजेक्सन’ भनिन्छ ।

प्रसारण हुने पदार्थ र कणको घनत्व, गतिको आधारमा यसलाई सामान्यदेखि घातक भनी वर्गीकरण गरिन्छ ।

प्रसारण पृथ्वीतिर भए यसको वरिपरि घुमिरहेका अन्तरिक्षयान तथा पृथ्वीको ध्रुवीय क्षेत्रमा रहेका देशको विद्युतीय प्रसारण संरचनामा असर गर्ने सोसाइटीले जनाएको छ ।

सूर्यको गतिविधिलाई वैज्ञानिकहरु सूक्ष्मरुपले अध्ययन गर्छन् । भूउपग्रहमा असर गर्ने भएकाले सूचना तथा सन्चार प्रविधि, मौसम पूर्वानुमान तथा दिशानिर्देशजस्ता अन्तरिक्षसँग सम्बन्धित सेवा प्रभावित हुन्छन् । रासस