१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


बुद्धकृष्णले सातौंपटक जिब्रो छेडाए


0
Shares

भक्तपुर, वैशाख २ । भक्तपुरको मध्यपुरथिमि, बोडेमा बुद्धकृष्ण बाग श्रेष्ठले सातौंपटक जिब्रो छेडाएका छन् ।

सोमबार हजारौं जात्रालुको वाहवाहीबीच बोडेका स्थानीय बुद्धकृष्णले सातौंपटक जिब्रो छेडाएका हुन् ।

बिस्केट जात्राका अवसरमा प्रत्येक वर्ष वैशाख २ गते यहाँ जिब्रो छेड्ने जात्रा हुने गर्छ ।

बुद्धकृष्णको जिब्रो कर्मीनाइके कृष्णचन्द्र बाग श्रेष्ठले छेडिदिएका हुन् ।

करिब एक फिट लामो फलामको सुइरोले बुद्धकृष्णको जिब्रो छेडिएको हो । उनले जिब्रो छेड्दा स्थानीयले खुसियाली मनाएका थिए ।

यसअघि, बुद्धकृष्णलाई बाजागाजासहितको टोलीले जिब्रो छेड्ने लायकुचोकमा ल्याएको थियो ।

जिब्रो छेडेपछि बाँस एवं निगालोले बनेको अर्ध चन्द्राकार महाद्वीप (भ्यय) बोकेर बुद्धकृष्णलाई बोडे परिक्रमा गराइएको थियो । टोलटोलमा घुमाइ पाँचो गणेशको रथलाई भागुटोल पुर्‍याएपछि सियो निकालिएको थियो ।

त्यसपछि महालक्ष्मीको माटोले जिब्रोको प्वाल टालिदिएर सियोलाई गणेश मन्दिरमा ठोकिएको थियो ।

जिब्रो छेड्ने व्यक्ति तीन दिनदेखि केही नखाइ ब्रत बस्ने चलन रहेको छ । जिब्रो छेड्ने सियोलाई एक महिनाअगाडि नै तयार पारी तेलमा डुबाएर राखिन्छ । जिब्रो छेड्नेक्रममा रगत बग्दैन ।

बिस्केट जात्राकाक्रममा भक्तपुरको मध्यपुरथिमिमा हुने विभिन्न जात्राहरुमध्ये जिब्रो छेड्ने जात्रा सबैभन्दा लोकप्रिय जात्रा हो ।

बोडेको जिब्रो छेडाउने जात्रा लिच्छविकालदेखि चलिआएको मान्यता छ ।