![](https://www.imagekhabar.com/wp-content/uploads/2016/08/1471861555vet-super-final-final.gif)
काठमाडौं, भदौ ६ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारूपमा भारत गएका उपप्रधानमन्त्री निधिले सोमबार पूर्वप्रधानमन्त्री सिंहसँग उनकै निवासमा भेटवार्ता गरेका हुन् ।
भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका विषयमासमेत छलफल भएको बताइएको छ ।
सोमबारै उपप्रधानमन्त्री निधिले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
उपप्रधानमन्त्री निधिले यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहसँग छुट्टाछुृट्टै उच्चस्तरीय भेटवार्ता गरेका थिए ।
त्यस्तै, भारतीय विपक्षी दल कंग्रेस (आई)का उपाध्यक्ष राहुल गान्धीले उपप्रधानमन्त्री निधिलाई उनी बसेको होटलमै आइतबार भेटेका थिए ।
भेटवार्ताक्रममा भारतीय उच्च अधिकारीहरुले उपप्रधानमन्त्री निधिलाई नेपाल सरकारले गरेको संविधान संशोधन र मधेसकेन्द्रित दलका माग सम्बोधन सम्बन्धमा गरेका कार्यको प्रशंसा गरेको निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिए ।
उपप्रधानमन्त्री निधिको भारत भ्रमणपछि यही भदौ ३० गतेदेखि प्रधानमन्त्री दाहालको भारत भ्रमण तय भएको बुझिएको छ ।
नयाँ सरकार गठनपछि नेपाल सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री निधि दुई देशबीच उच्चस्तरीय भ्रमणको चाँजोपाँजो मिलाउन यही भदौ २ गते भारत प्रस्थान गरेका हुन् । रासस
प्रतिक्रिया दिनुहोस्