२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024


‘गाउँपालिकाको संख्यामा घटबढ हुन सक्दैन, आयोगको सिफारिस बाध्यकारी’ (भिडियोसहित)


0
Shares

काठमाडौं, भदौ ७ । स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रस्तावित ५ सय ६५ गाउँपालिकाको संख्या घटबढ हुन नसक्ने बताएका छन् ।

जनसंख्या, भुगोल, प्राकृतिक स्रोत–साधन, पहुँचलगायतलाई आधार बनाएर स्थानीय तहको पुनर्संरचना निर्धारण गरिएको निर्धारण भन्दै उनले गाउँपालिकाको संख्या ५ सय ६५ कै हाराहारीमा हुने जिकिर गरे ।

इमेज टेलिभिजनको कार्यक्रम ‘इमेज संवाद’मा कुरा गर्दै पौडेलले प्रस्तावित संख्या तलमाथि गर्दा पुरै पुनर्संरचनामा प्रभाव पर्ने भएकोले संख्यामा नअल्झन पनि राजनीतिक दललाई सुझाव दिएका छन् ।

अहिलेका गाविस र अब बन्ने गाउँपालिकालाई तुलनै गर्न नमिल्ने भन्दै पौडेलले अबको गाउँपालिका क्षेत्र, स्रोत, साधन र अधिकारको हिसाबले बढी शक्तिशाली र जनताप्रति उत्तरदायी हुने दाबी गरे ।

स्थानीयहरु केन्द्र वा प्रदेश सरकरको अधीन र नियन्त्रणमा नरहने र ती निकायहरु संवैधानिकरुपमै स्वायत्त बन्ने पनि उनले स्पस्ट पारे ।

पौडेलकाअनुसार आयोगले निर्धारण गरेको संख्या र सिमाना संविधानतः कार्यान्वयन गर्नैपर्ने हुन्छ ।

संविधानमा रहेको व्यवस्था उल्लेख गर्दै उनले भने–‘यो सिफारिसमात्र होइन, यसको कार्यान्वयन कानुनीरुपमै बाध्यकारी छ ।’

स्थानीय तह पुर्नसंरचना आयोगको अवधि आगामी २०७३ फागुनसम्म रहेपनि असोज मसान्तभित्र नै सरकारलाई प्रतिवेदन बुझाउने अध्यक्ष पौडेलले प्रस्ट पारे ।

असोज मसान्तभित्र प्रतिवेदन बुझाएपछि सरकार र राजनीतिक दलहरुले चाहेको अवस्थामा आगामी चैतमा स्थानीय तहको निर्वाचन सम्भव भएको उनको भनाइ छ ।

पौडेलसँगको अन्तर्वार्ता मंगलबार बेलुकी ८ः३० बजे र बुधबार बिहान ८ः०० इमेज टिभीमा प्रसारण हुनेछ ।

अन्तर्वार्ताको छोटो अंश हेर्न यहाँ क्लिक गर्नुहोस्