१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


सबैभन्दा माथि देश हुनुपर्छ : कमल थापा


0
Shares

काठमाडौं, वैशाख १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय एकता, अखण्डता र स्वाधीनता कुनै पनि वाद, विचार वा ब्यवस्थाभन्दा माथि हुनुपर्ने बताएका छन् ।

नयाँ वर्षको अवसरमा आफ्नै निवासमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले मुलुकमा ब्याप्त बेथिति, बिसङ्गति, कुशासन र भ्रष्टाचारको अन्त्य अहिलेको प्रमुख आवश्यकताको विषय रहेको बताए ।

नयाँ वर्षले मुलुकलाई सकारात्मक दिशातर्फ लैजान सकोस् भन्ने शुभकामना प्रकट गर्दै थापाले सबैले ठुलो र फराकिलो छातीका साथ सबैभन्दा माथि देशलाई राख्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय मुलुकको गौरवशाली ईतिहासमाथि प्रश्न चिन्ह उठिरहेको भन्दै थापाले धर्म, संस्कृति र पहिचानको निमित्त एकपटक सबै नेपाली जुरुक्क उठ्नुपर्ने बताए ।

नेपाल मौलिक पहिचान र सास्कृतिक विविधताको दृष्टिकोणले सम्पन्न रहेका भन्दै उनले ईतिहास रक्षा गर्न नसकिए मुलुकको प्रगति पनि हुन नसक्नेतर्फ सचेत गराए ।

काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारी सदस्यहरु, जनवर्गीय संगठनका नेताहरु, विभागीय प्रमुखहरु, काठमाडौं, ललितपुर,  भक्तपुर कार्यसमितिका नेताहरु उपस्थित कार्यक्रममा थापाले नयाँ वर्ष राप्रपाको निमित्त संगठन निर्माण र संघर्षको बर्ष भएको बताए ।

राप्रपाद्वारा जारी आन्दोलनका क्रममा घाईते कार्यकर्ताहरुलाई पनि चियापानको निमित्त थापा निवास बोलाईएको थियो । घाइतेहरुको स्वास्थबारे चासो राख्दै थापाले ठट्यौली पारामा भने, ‘चाँडै तयार हुनोस्, निर्णायक समय आउँदैछ ।’